Back To Top

August 13, 2026

भोटेकोशी नदीको बहाव थुनिने डर

Global Ime Bank AD
Insourance

सिन्धुपाल्चोक — चीनतर्फको न्यालम नजिक ठूलो पहिरो खसेपछि भोटेकोशी नदीको बहाव प्रभावित भएको छ । नदीमा पहिरो खसिरहेकाले जुनसुकै बेला पानीको बहावमा परिवर्तन आउन सक्ने भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

सीमास्थित सशस्त्र प्रहरी बलका अनुसार पहिरो खसेको क्षेत्र लिपिङ बजार जोड्ने बेलिब्रिजको पारिपट्टि चीनतर्फ पर्छ । बिहीबार बिहान करिब ६ः३० बजेदेखि न्यालमस्थित भीरबाट ढुंगामाटोसहितको पहिरो खसिरहेको हो । भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले पहिरोका कारण भोटेकोशीको बहाव बदल्ने त्रास भएको बताए । उनका अनुसार पहिरोले नदी केही अंश थुनिएकाले तल्लो तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

‘बिहीबार बिहान करिब ६ः३० बजेदेखि चीनतर्फ न्यालमस्थित झिम्मु पोस्ट आसपासको भीरबाट पहिरो खसिरहेको छ,’ उनले भने, ‘पहिरोका कारण नदीको बहाव प्रभावित भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छौं ।’

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरो नदीमा खसेपछि सशस्त्र प्रहरी बल ,नेपाल प्रहरीद्वारा निगरानी भइरहेको छ । नदीमा पहिरो थप खसेमा पानी जम्मा भएर एक्कासि ठूलो बहाव आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको प्रहरीले जनाएको छ । विशेषगरी बलेफी गाउँपालिकाअन्तर्गत ड्यामसाइट, झोलुंगे, लामोसाँघु, खाडीचौर, अँधेरी, कोठे र बलेफी बजार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले नदी आधा थुनिएको भन्ने विवरण सही नभएको बताएका छन् । उनका अनुसार पहिरोको थोरै अंश मात्रै नदीमा खसेको र भोटेकोसी आफ्नै बहावमा बगिरहेको छ । ‘आधा नदी थुनिएको होइन, थोरै अंश मात्रै पहिरो नदीमा खसेको हो । नदी आफ्नै बहावमा बगिरहेको छ,’ घिमिरेले भने, ‘अहिले नै आत्तिनुपर्ने अवस्था छैन ।’

United long banner ad
Prev Post

ऊर्जा उत्पादन, प्रसारण र वितरणको एकीकृत विकास आवश्यक

post-bars

Leave a Comment