कुलेखानीमा उच्च सतर्कता, कालीगण्डकी ‘ए’मा पनि खतरा
काठमाडौँ ।
लगातारको वर्षाका कारण मकवानपुरको कुलेखानी जलाशयमा पानीको सतह बढेको छ। आइतबार बिहान ९ बजेको मापनअनुसार यहाँ पानीकाे सतह १ हजार ५२६ मिटर पुगेको छ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार जलाशयमा पानीको सतह अब एक मिटर बढेर १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइनेछ। वर्षा निरन्तर भइरहेकाले जलाशयमा पानीको सतह थप बढ्न सक्ने भन्दै केन्द्रले सम्बन्धित सबैलाई उच्च सावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ।जलाशयको पानीको सतह चेतावनी तहभन्दा एक मिटर मात्रै तल रहेकाले कुलेखानी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन आग्रह गरिएको छ।
नदी, खोला तथा जलाशयको तल्लो क्षेत्रमा रहेका नागरिकले जोखिमको अवस्था हेरी आवश्यक सुरक्षा सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रले पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि साइरन बजाएर पहिलो चरणको चेतावनी दिने जनाएको छ। यसअघि २०८१ साल असोज दोस्रो साता भारी वर्षा हुँदा कुलेखानी जलाशय भरिएर ओभरफ्लो भएको थियो।
उता अविरल वर्षाकै कारण कालीगण्डकी नदीमा भीषण बाढी आउँदा १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पानीको सतह उच्च बनेको छ । नदीमा पानीको बहाव बढेर जलस्तर खतराको तहभन्दा माथि पुगेपछि आयोजनाको डाइभर्सन ड्यामका सबै गेटहरू (ढोकाहरू) पूर्ण रूपमा खोलिएका छन् ।
बाँध क्षेत्रको जलस्तर ५१९ को उचाइमा पुगेपछि आयोजनाका सबै ढोकाहरू खोलिएका हुन् । जलविद्युत् आयोजनाका ड्याम गेटहरू खोलिनुका साथै नदीको बहाव अझै नघटेकाले तटीय क्षेत्रहरूमा जोखिम अत्यधिक बढेको छ । प्रशासनले कालीगण्डकी नदी किनारका आसपासका बासिन्दाहरूलाई सजग रहन र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबिच, नदीमा आएको भीषण बाढीले गण्डकी र लुम्बिनी प्रदेश (स्याङ्जाको मीर्मी र गुल्मीको हर्मिचौर) जोड्ने आयोजना कालदेखि सञ्चालित बेली ब्रिज बगाएको छ । पुल बगाएपछि दुई प्रदेशबिचको प्रत्यक्ष आवतजावत ठप्प भएको छ ।