Back To Top

September 25, 2026

कुलेखानी जलाशयको पानीको सतह तीव्र गतिमा बढ्दै

Global Ime Bank AD
Insourance

काठमाडौं ।

रातभर परेको निरन्तर वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह तीव्र गतिमा बढेको छ ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार, शुक्रबार बिहान ७:१५ बजे जलाशयको पानीको सतह १,५२२.३८ मिटर पुगेको छ ।

तिम्सिनाका अनुसार, पछिल्लो डेढ घण्टामै जलाशयको पानीको सतह ९ सेन्टिमिटरभन्दा बढी बढेको हो । कुलेखानी जलाशयको उच्च जलसतह १,५३० मिटर हो ।

यस हिसाबले बिहान ७:१५ बजेको अवस्थामा जलाशयको पानीको सतह उच्च जलसतहभन्दा करिब ७.६२ मिटर तल छ । निरन्तर वर्षा भइरहेकाले जलाशयमा पानीको सतह तीव्र गतिमा बढ्दै गइरहेको छ ।

कुलेखानी जलाशयबाट कुलेखानी पहिलो, दोस्रो र तेस्रो जलविद्युत् आयोजना सञ्चालन हुन्छन् । कुलेखानी–१ को जडित क्षमता ६० मेगावाट छ ।

यसअघि गत वर्ष अत्यधिक वर्षाका बेला कुलेखानी जलाशयको पानी १,५३० मिटरभन्दा माथि पुगेपछि बाँधका गेट आंशिक रूपमा खोलिएको थियो ।

जलाशयमा पानीको सतह बढेसँगै कुलेखानी प्रथम जलविद्युत् केन्द्रले बाढीजन्य जोखिम नियन्त्रण तथा सम्भावित आपत्कालीन अवस्थाका लागि तयारी तीव्र पारेको छ ।

केन्द्रका अनुसार, नेपाल विद्युत् प्राधिकरणको लोड डिस्प्याच सेन्टर (एलडीसी) को समन्वयमा कुलेखानी जलाशयमा पानीको सतह थप बढ्न नदिन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छ ।

बाँध (ड्याम) क्षेत्रमा थप अनुभवी टोली परिचालन गरिएको छ भने ड्याममा जडान गरिएको डिजेल जेनेरेटर (डीजी) को परीक्षण तथा जाँच गरी दुरुस्त अवस्थामा राखिएको छ । ड्याम नियन्त्रण प्रणालीअन्तर्गत पाँच किलोमिटर दूरीसम्म सुनिने साइरनको व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।

सम्भावित आपत्कालीन अवस्थाबारे स्थानीयलाई पूर्वजानकारी दिन साइरन बजाउने सम्बन्धी सूचना तथा सचेतनामूलक सन्देश फ्लेक्स प्रिन्ट गरी देउराली, सिमखोला, हेभी, खानीखोला र सिस्नेरी प्रहरी चौकीमा राखिएको छ ।

त्यस्तै, ड्यामको तल्लो तटीय क्षेत्रमा रहेका साइरनलाई विद्युत् आपूर्ति अवरुद्ध भए पनि सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ । ड्यामको डाउनस्ट्रिममा रहेको सिस्नेरी प्रहरी चौकी र इन्द्रसरोवर गाउँपालिकाको नयाँ भवनमा जडान गरिएका इलेक्ट्रिक साइरनका लागि डिजेल जेनेरेटर जडान गर्नुका साथै ती साइरन सञ्चालन गर्ने अभ्याससमेत गराइएको केन्द्रले जनाएको छ ।

आपत्कालीन अवस्थामा तत्काल प्रयोग गर्न दुई थान हाते साइरनसमेत वितरण गरिएको छ । तीमध्ये एक थान खानीखेत अस्थायी प्रहरी चौकी र अर्को सशस्त्र प्रहरी बलको हेभीस्थित टोलीलाई हस्तान्तरण गरिएको छ ।

ड्यामको गेट खोल्नुपर्ने अवस्था आएमा एसएमएसमार्फत समेत सूचना पठाउन सकिने गरी आवश्यक मोबाइल नम्बरहरू संकलन गरिएको छ । यसका लागि जिल्ला विपद् व्यवस्थापन टोली, मकवानपुरका गाउँपालिकाका फोकल व्यक्ति तथा विभिन्न कार्यालयका प्रमुखहरूको सम्पर्क नम्बर संकलन गरिएको केन्द्रले जनाएको छ ।

यसैगरी, तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने ठूलो संख्याका स्थानीय बासिन्दाका मोबाइल नम्बरसमेत संकलन गरिएको आयोजनाले जनाएको छ ।

United long banner ad
Prev Post

राष्ट्रसंघमा बालेनः विश्वव्यापी विभेदबारे ओझपूर्ण अभिव्यक्ति

Next Post

राष्ट्रसंघमा बालेन: भोटेकोसी बाढी विपद्‌बारे कुरा उठाए (पूर्णपाठ)

post-bars

Leave a Comment