नागढुंगा-नौबिसे सुरुङमार्गदेखि सञ्चालनमा
काठमाडाै ।
नागढुंगा-नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ ।
नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे-नागढुंगा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए ।
‘सुरुङमार्गभित्रका सबैजसो काम सकिसकेको छ । सुरुङभित्र हुने आकस्मिक कुनै घटना भएमा कसरी उद्धार गर्ने र सवारी व्यवस्थापन गर्ने विषयमा आवश्यक परीक्षणका काम भइराखेको छ,’ उनले भने, ‘सुरुङमार्ग बाहिरको पहिरो रोकथामको काममात्रै बाँकी छ ।’
नागढुंगा-नौबिसे सुरुङमार्गअन्तर्गत दुई हजार ६८८ मिटर कुल लम्बाइ रहेको छ । सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो । ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिन नसकेको हो । आयोजनाका अनुसार अहिले सुरुङमार्ग सञ्चालन, व्यवस्थापन अभ्यासको काम हुँदै आइरहेको छ ।
आयोजनाका निर्देशक नेपालले नागढुंगा-नौबिसे सुरुङमार्ग उपयोग गरेबापत तिर्नुपर्ने दस्तुर (टोल) संकलन गर्ने बैंकको छनोट र कार्ड छाप्नेलगायतको प्रक्रिया पनि अघि बढिसकेको दाबी गरे । आयोजनाले नागढुंगा-नौबिसे सुरुङमार्गमा गुड्ने सवारीसाधनबाट तीन तरिकाबाट दस्तुत तिर्न मिल्ने व्यवस्था मिलाएको छ । ‘म्यानुअल’ रूपमा सवारी चालकबाट नगदै लिने व्यवस्था, ‘क्यूआर कोड’ स्कानिङ गरेर र सवारीसाधनमा टाँस्ने स्टिकरलाई उच्च क्षमताको क्यामेरामार्फत रिड गरेर पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
बोलपत्रमार्फत युसिन एआरटी कम्पनीले एक अर्ब १० करोड लागतमा पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारलगायतको जिम्मेवारी पाएको छ ।
आयोजनाका निर्देशक नेपालले सुरुङमार्ग उपयोग गर्ने सवारीसाधनबाट उठेको दस्तुर रकम व्यवस्थापकले संकलन गरेर सडक बोर्ड नेपालको खातामा दाखिला गर्नुपर्नेछ । सो बोलपत्रमा १० वटा कम्पनीको आवेदन परेको थियो । कम्पनीले ३६५ दिनमा चौबिसै घण्टा सञ्चालन गर्नेछन् । ‘सुरुङमार्ग व्यवस्थापन र सञ्चालनमा १५० जना जनशक्ति खटिनेछन्,’ उनले भने, ‘सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउँदा दिउँसोको ‘पिकआवर’मा एकैपटक ४० कर्मचारी खटिनेछन् ।‘ अहिले सुरुङमार्गभित्र आन्तरिक तयारीका काम भइरहेका छन् । असार महिनाभित्र सबै खालका तयारी पूरा गरेर सुरुङमार्गबाट सवारीसाधन गुडाउने लक्ष्य राखेका छौँ ।
आयोजनाका अनुसार काठमाडौं प्रवेश तथा बाहिरिने नागढुंगा-नौबिसेनाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रेबाहेक करिब आठ हजारभन्दा धेरै साना तथा ठूला सवारीसाधन गुड्ने गर्छन् । आयोजनाका निर्देशक नेपालले नागढुंगा-नौबिसे सडकखण्डबाट भित्रिने र बाहिरिने सवारीसाधनमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिए । आयोजनाका अनुसार यो सुरुङमार्ग हुँदै दुईपाङग्रे सवारीसाधन भने चलाउन पाइने छैन ।
यस्तो छ सुरुङमार्गबाट सवारी गुडाउँदाको शुल्क
२०८२ साल चैत २६ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर नागढुंगा-नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको छ । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ । कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ र सोही वर्गका सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने ६० तोकिएको छ । त्यसैगरी, मिनीबस, मिनी टिपर-ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ र काठमाडौंबाट प्रस्थान गर्दा भने ८० दस्तुर तोकिएको छ ।
त्यसैगरी, बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीका लागि काठमाडौं प्रवेश गर्दा २६० दस्तुर तोकिएको छ । सोही सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा भने २०० दस्तुर तोकिएको छ । मल्टिएक्सल ट्रक, सवारीसाधन, भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० दस्तुर तोकिएको छ । त्यसैगरी, काठमाडौंबाट प्रस्थान गर्दा सोही वर्गका लागि भने २५० दस्तुर तोकिएको छ ।