Back To Top

August 29, 2026

त्रिशूली–३ ‘ए’ उद्धार कार्यलाई तीव्रता

Global Ime Bank AD
Insourance

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। सुरुङभित्र मानिसहरू फसेको सूचना आएपछि विगत दुई दिनदेखि निरन्तर उद्धार प्रयास भइरहेको हो।

शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्न लेदो तथा भग्नावशेष हटाउने कामलाई थप तीव्र पारिएको छ। सुरुङभित्र प्रवेश गरी फसेका व्यक्तिको खोजी गर्न सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरेको जनाएको छ।

सुरुङको मुख खोतल्ने तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको संयुक्त टोली घटनास्थलमा निरन्तर खटिएको छ। तर, प्रभावित क्षेत्रमा प्रतिकूल मौसम कायमै रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो र भग्नावशेष हटाउँदै भित्र फसेका व्यक्तिको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ।

यसैबीच, उद्धारमा सहयोग गर्न आएको भारतीय टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे तथा लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन (रेकी) गर्ने भएको छ।

अनुगमनबाट प्राप्त अवस्थाका आधारमा भारतीय टोलीले थप उद्धार कार्यमा सहयोग गर्ने योजना बनाएको छ। नेपाली सुरक्षाकर्मी र भारतीय उद्धार टोलीबीच समन्वय गरी सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ।

प्रतिकूल मौसम र सुरुङमा थुप्रिएको लेदो तथा भग्नावशेषका कारण उद्धारमा कठिनाइ भए पनि टोलीले जोखिम मोलेर कामलाई निरन्तरता दिएको छ।

यसैबीच, चीनबाट सुरुङ निर्माण तथा उद्धारसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउन लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजना तथा सुरुङ संरचनामा प्राविधिक अवस्था मूल्यांकन गरी उद्धार कार्यमा आवश्यक सहयोग गर्ने उद्देश्यले चिनियाँ विज्ञ टोली आउन लागेको हो।

 

United long banner ad
Prev Post

ग्लोबल स्मार्ट प्लस’ मार्फत उद्धार कोषमा आर्थिक सहयोग गर्न सकिने

Next Post

त्रिशूली–३ ‘बी’काे साइटमा उद्दारकर्ता पुराइँदै

post-bars

Leave a Comment