एमसीसीकाे १८ किलोमिटर प्रसारण लाइन तयार
काठमाडौं । एमसीए–नेपालले १८ किलोमिटर प्रसारण लाइन शिलान्यास गरेको ९ महिनामा निर्माण सम्पन्न गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका वडा नम्बर १३ मा निर्माणाधीन न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त प्रसारण लाइन खण्डको निर्माण आइतबार सम्पन्न भएको हो ।
‘नेपालको अहिलेको आवश्यकतालाई दृष्टिगत गरी यो लाइन निर्माणलाई हामीले तीव्रता दियौँ,’ एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने। एमसीए–नेपालले भारतीय कम्पनीले ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ८ भदौ २०८१ मा उक्त प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । १ करोड २३ लाख ८० हजार अमेरिकी डलरमा २१ महिनाभित्र यो आयोजना निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । बुटवल–गोरखपुर प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन निर्माण एमसीए–नेपालले गरेको हो । यो लाइन निर्माणसँगै दोस्रो सीमापार प्रसारण लाइनको नेपालतर्फको खण्ड तयार भएको छ ।
एमसीसीको अनुदानमा कुल ३ सय १५ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ । ती आयोजनाको थप तीन प्याकेजमा निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । त्यसका साथै, ४०० केभीकै विद्युत सबस्टेसन तथा सडक सुधार आयोजना पनि कार्यान्वयन हुँदै छ ।