एपोलो हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं : एपोलो हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत २६ गतेदेखि बिक्री खुला गरेको उक्त आईपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले यसअघि स्थानीय बासिन्दाका लागि ४ लाख ७० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९४ हजार कित्ता शेयर बाँडफाँट गरिसकेको छ। त्यस्तै सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कर्मचारीका लागि १८ हजार ८०० कित्ता शेयर पनि छुट्याइएको छ।
हाल कम्पनीले बाँकी रहेको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो, जसको कुल मूल्य ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबर हुन्छ। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना करिब १ अर्ब ३७ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७७ वर्ष तथा छुटदर (डिस्काउन्ट) सहितको अवधि १६.४३ वर्ष रहेको छ।
आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।