इप्पानमा सहमतिमा नयाँ कार्यसमिति तय
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार अध्यक्षमा मोहनकुमार डाँगी स्वतः निर्वाचित भएका छन् ।
संस्थाको संशोधित विधानको धारा १५ को उपधारा १२ मा व्यवस्था गरिएअनुसार मोहनकुमार डाँगी संस्थाको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट स्वतः अध्यक्षमा चयन भएका हुन् ।वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् । इप्पानमा यसपाली प्यानल प्रतिस्पर्धा हुने गरी उम्मेदवारी दर्ता भएकाे थियाे । तर अन्तिममा सहमति हुँदा बलराम खतिवडा प्यानल सहमतिमा पुगेकाे हाे ।
त्यसैगरी उपाध्यक्षमा उत्तमकुमार श्रेष्ठ, नरेन्द्र वल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा टेकनाथ आचार्य (टी.एन. आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भए ।
सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुँवरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचनको सबैभन्दा प्रतिस्पर्धात्मक पद कोषाध्यक्षमा भने शंकर बस्याल विजयी भएका छन् । उनले २६७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत प्राप्त गरे
त्यसैगरी सदस्य खुलातर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कट्टेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै संस्थाको आगामी कार्यकाल सफल बनाउन सबै सदस्यहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।