पहिरोले यी राजमार्गमा अवराेध
काठमाडौं
देशभर जारी अविरल वर्षाका कारण बाढी तथा पहिरोले विभिन्न राजमार्ग र सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ।
सम्भावित बाढीको जोखिमका कारण काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ। उक्त सडक खण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालनको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, कान्ति लोकपथमा पनि अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
इलाम नगरपालिका–९ स्थित राजदुवाली क्षेत्रमा मेची राजमार्गको सडक हिलो बनेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ ढुङ्गेखोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं २ कोदारी क्षेत्रमा पहिरोसहित ढुङ्गा–माटो खसेपछि अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ। यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने, वडा नं ८ गिम्दी तथा वडा नं ९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेपछि बिपी राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरीले वर्षाका कारण पहिरो र बाढीको जोखिम अझै कायम रहेकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा यात्रा गर्नुपरेमा सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।