काठमाडौं ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा नै ठेक्का पुरा नगर्ने र ठेक्का अलपत्र पार्ने ११ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
आज कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको जनाएको छ । कालोसूचीमा परेका कम्पनीहरूले तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् । कार्यालयले रमण कन्स्ट्रक्सन प्रालि र भारतको मुम्बईको पटेल इन्जिनियरिङ लिमिटेड (जोइन्ट भेन्चर) लाई ३ वर्षका लागि कालोसूचीमा राखेको छ । कम्पनीका मुख्य व्यक्तिहरूमा रमण महतो र भारतका रुपिन प्रविणभाइ पटेल छन् ।
यस्तै हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीको सिफारिसमा गौरी पार्वती निर्माण सेवालाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । यसका मुख्य व्यक्तिहरुमा राम कुमार थापा, देव एण्ड सायर कन्स्ट्रक्सनका बासु देव उप्रेती र भूमि इन्फ्रास्ट्रक्चरका भावेश बोहरा रहेका छन् ।
यस्तै फ्रेन्ड्स कन्स्ट्रक्सन, कोटेश्वरलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ । यस्तै रिदम कन्स्ट्रक्सन, पन्ना/तारालक्ष्मी जेभी, केएम कन्स्ट्रक्सन, टेक एण्ड सपना कन्स्ट्रक्सन एबिसि निर्माण सेवा, गायत्री माँ कन्स्ट्रक्सन, बायोप्लस मेडिको प्रालि, भुमिराधा विल्डर्सलाई पनि कालोसूचीमा राखेको छ ।
