विद्युत्गृह तथा सबस्टेसनहरु ध्वस्त
भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी करिडोरमा निर्माण भई सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजना सहित ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ ।
अहिलेसम्म के कति क्षति भयो भन्ने बारे केही तथ्य बाहिर आएको छैन । त्यस करिडोरमा निर्माण भई सञ्चालनमा रहेका र निर्माणाधीन गरी ४०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनाको विद्युत् प्रणालीबाट विच्छेद भएको अनुमान गरिएको छ ।
चीन अर्थात् तिब्बतको सीमामा निर्माण भई सञ्चालनमा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना मात्र ध्वस्त बनाएको छैन । त्यस क्षेत्रका टिमुरे बजार तथा नजिक बस्ती समेत सोहोरेर बगाएको अनुमान गरिएको छ ।सञ्चालनमा रहेका जल विद्युत्गृह तथा विद्युत् सबस्टेसन पूर्णरूपमा ध्वस्त भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए ।रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बाढीका कारण भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको र अचानक बाढी आउनुको कारण खुल्न नसकेको बताएका छन् । उनका अनुसार जिल्ला सदरमुकाम वरपर भने वर्षा भएको छैन । टिमुरे बजार पूरै बगाएको बताइएको छ ।
नेपालतर्फ पानी नपरेको तर माथिल्लो क्षेत्रमा हिमताल फुटेको हो वा के भएको हो भन्ने थाहा हुन नसकेको उनको भनाइ छ । बाढीको रूप हेर्दा तल्लो तटीय क्षेत्रमा पनि असर पर्न सक्ने अनुमान गरिएको छ ।जमेको नदी अचानक फुटेर बगोजस्तो अनुमान गरिएको छ । बाढी र पहिरोले टिमुरेमा व्यापक क्षति पुर्याएको अनुमान गरिएको छ । यद्यपि, मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने तत्काल उपलब्ध हुन सकेको छैन ।
यो बाढी सोही क्षेत्रमा विनाशकारी बाढी आएको ठीक एक वर्षपछि आएको हो । सन् २०८२ असार २४ मा तिब्बतको लेन्दे खोलाबाट सुरु भएको बाढी भोटेकोशीमा मिसिँदा कम्तीमा ९ जनाको मृत्यु भएको थियो भने १९ जना बेपत्ता भएका थिए । उक्त बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाउनुका साथै रसुवागढी सुक्खा बन्दरगाह, जलविद्युत् संरचना र स्याफ्रूबेँसी-रसुवागढी सडकखण्डमा गम्भीर क्षति पुर्याएको थियो ।