Back To Top

May 8, 2026

विद्युत व्यापार सम्झौता व्यापारिक: सर्वोच्च

Global Ime Bank AD
Insourance

काठमाडौं ।

सर्वोच्च अदालतले सरकारलाई विद्युत व्यापार गर्दा नेपालको राष्ट्रिय हित र वातावरणीय पक्षलाई ध्यानमा राख्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ । पूर्व सचिव सूर्यनाथ उपाध्यायले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत व्यापार सम्झौताले नेपालको प्राकृतिक स्रोत (जलस्रोत) माथि दीर्घकालीन असर पार्ने र यो सम्झौतालाई संविधानको धारा २७९ अनुसार संसदबाट अनुमोदन गराउनुपर्ने माग गर्दै दायर गरेको रिट खारेज गर्दै सर्वोच्च अदालतले उक्त आदेश दिएको हो ।

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना मल्ल प्रधान र महेश शर्मा पौडेलको पूर्ण इजलासले विद्युत व्यापार सम्झौता विशुद्ध व्यापारिक प्रकृतिको भएको र यसले प्राकृतिक स्रोतको बाँडफाँड नगरेको व्याख्या गर्दै रिट खारेज गरेको छ ।

रिट खारेज गरेपनि सर्वोच्च अदालतले अन्तरदेशीय विद्युत व्यापार गर्दा वातावरणीय, जलवायु, राष्ट्रिय हित जस्ता विषयमा ध्यान दिन निर्देशनात्मक आदेश जारी गरेको छ । रिट खारेज गर्दै सर्वोच्च अदालतले नेपाल सरकारका नाममा ६ वटा निर्देशनात्मक आदेश दिएको हो ।

भारतसँग भएको विद्युत व्यापार सम्झौतालाई नेपाल राजपत्रमा प्रकाशित गर्नुपर्ने, संसदलाई जानकारी गराउनुपर्ने, विद्युत व्यापार गर्दा राष्ट्रिय हित र कुनै एक मुलुकको एकाधिकार कायम नहुने गरी गर्न निर्देशनात्मक आदेश दिएको छ । यस्तै वातावरणीय न्याय र ‘जलवायु न्याय’ को सिद्धान्त अनुसार विश्वव्यापी रूपमा ग्रहण गरिएका वातावरणीय लक्ष्यहरू पूरा हुने गरी मात्र कार्यान्वयन गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको हो ।

६ निर्देशनात्मक आदेश:
– नेपाल सन्धि ऐन, २०४७ को दफा १२ बमोजिम उक्त सम्झौतालाई सर्वसाधारणको जानकारीका लागि नेपाल राजपत्रमा अनिवार्य रूपमा प्रकाशन गर्न निर्देशन दिएको छ ।
– नेपाल सन्धि ऐन, २०४७ को दफा १० मा ऐनको दफा ६ अनुसार नेपाल सरकारले स्वीकार गरेका सन्धिहरूको सूचना व्यवस्थापिकामा पेश गर्नुपर्ने भएकोले उक्त विद्युत व्यापार सम्झौता जानकारीका लागि ३० दिनभित्र संसदका दुवै सदनमा पठाउन आदेश दिएको छ ।
– उक्त सम्झौता अनुसार विद्युत व्यापार, ग्रीड जडान, प्रसारण पूर्वाधार विस्तार गर्दा राष्ट्रिय हित प्रतिकूल नहुने गरी अन्तर्राष्ट्रिय सम्बन्ध र समन्वयको सिद्धान्त अनुसार सम्झौताको कार्यान्वयन गर्न गराउन निर्देशन दिएको छ ।
– दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन तथा विद्युत बिक्री वितरण गर्दा स्वदेशी खपतमा कुनै कटौती नहुने वा प्रतिकूल प्रभाव नपर्ने गरी मात्रै बिक्री गर्न निर्देशन दिएको छ ।
– सम्झौता कार्यान्वयन गर्ने क्रममा जलस्रोत बाँडफाँड वा उपयोग लगायतका विषयमा थप सम्झौता सम्पन्न गर्नुपर्ने भएमा वा प्राकृतिक स्रोतको बाँडफाँड हुने परिस्थिति सिर्जना हुन आएमा नेपालको राष्ट्रिय हित प्रतिकूल नहुने तथा विभेद र अन्य कुनै मुलुकको एकाधिकार कायम नहुने प्रबन्ध गरी नेपालको संविधान तथा प्रचलित कानुनबमोजिमको प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ ।
– दीर्घकालीन विद्युत व्यापार सम्झौताको प्रस्तावना र परिच्छेद ५ अनुसारको अन्तर्राष्ट्रिय दायित्व तथा प्रतिबद्धतालाई ध्यानमा राखी वातावरणीय न्यायका लागि जलविद्युत जस्तो नवीकरणीय ऊर्जाको कारोबार छिमेकी राष्ट्रसँग गरी वातावरणीय न्यायका सिद्धान्त अनुरूप विश्वव्यापी रूपमा ग्रहण गरिएका वातावरणीय लक्ष्य पूरा हुनेगरी कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

United long banner ad
Prev Post

विद्युत् प्राधिकरणको निमित्त कार्यकारीमा दीर्घायुकुमार श्रेष्ठ

post-bars

Leave a Comment