नौ महिनामा सुन आयात नौ प्रतिशतले कम
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष सुन आयात ९ प्रतिशतले घटेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना (साउन–चैत) मा २३ अर्ब ५० करोड ४ लाख रुपैयाँ बराबरको १ हजार २५४ किलोग्राम सुन नेपाल भित्रिएको छ । परिणामको आधारमा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ९.७३ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा १ हजार ३८९ किलोग्राम सुन १७ अर्ब १२ करोड ८९ लाख रुपैयाँमा आयात भएको थियो ।
विभागको तथ्यांक हेर्दा परिणाममा कमी आएपनि रकममा भने २७.११ प्रतिशतले बढेको छ । चालु आवमा सो परिणामको सुन आयात गर्दा सरकारले २ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष एक अर्ब ८५ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
सुनको मूल्यमा अधिक वृद्धि भएसँगै सुन कारोबार घटेको व्यापारीहरु बताउँछन् । सुनको मूल्य बढ्दै गएको र उपभोक्ताको सुन किन्ने क्षमता कम हुँदा बजारमा माग कम भई कारोबारमा कमी आएको हो ।
सुनको मूल्य निरन्तर बढ्दै गएपछि सुनचाँदी व्यवसायमा ठुलो असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्रचार्यले जानकारी दिए । ‘बजारमा माग न्यून हुँदा बिहेको सिजनका बेला पनि कारोबार बढ्न सकेको छैन, उनले भने, ‘मूल्य बढेका कारणले गर्दा कारोबार झण्डै ७०/८० प्रतिशत घटेको छ ।’ सुनको कारोबार घटेपछि व्यवसाय सञ्चालन गर्न नसकेर साना व्यवसायीहरु सुन व्यवसाय नै गर्न छाडेको उनको भनाई छ ।
उनका अनुसार, मुख्य बजारका सुनचाँदी पसलमा केही मात्रामा कारोबार भए पनि भित्री ठाउँमा रहेका पसल सुनसान छन् । साना व्यवसायीले पसलको भाडा तिर्न नसकेर पसल छाडेर अन्य व्यवसाय गर्न सुरु गरेका छन् ।
महासंघका अनुसार, सामान्य अवस्थामा बिहेको सिजनमा दैनिक ३० देखि ४० किलो सुनको माग हुने गरेको अहिले ५÷१० केजी पनि मुस्किलले हुने गरेको छ । आवश्यक पर्ने ग्राहकले न्यून परिमाणमा सुन खरिद गर्ने र पुरानै गहनाले काम चलाउने गरेको उपाध्यक्ष बज्रचार्य बताउँछन् ।
पछिल्लो समय देखिएको आर्थिक सुस्तता र मूल्य वृद्धिकै कारण सुनको आयात कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । बजारमा माग नभएपछि आयात घटाउनुपरेको उनको भनाइ छ । बजार चलायनमान नभएपछि आयात गरेको सुन पनि बैंकमा जम्मा भएर बस्ने हुँदा आयात नै कम गरेको उनले बताए ।
नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रै छ । व्यवसायीहरूको सिफारिसमा बैंकहरुले सुन आयात गर्ने गरेको छ ।