Back To Top

June 30, 2026

प्रवर्धकले बनाए मर्स्याङ्दी करिडाेरकाे २८ किलाेमिटर प्रसारणलाइन

Global Ime Bank AD
Insourance

काठमाडौं।

करिब सात वर्षसम्म निर्माण सम्पन्न हुन नसकेको मस्र्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा डेढ वर्षभित्रै सम्पन्न भई सञ्चालनमा आएको छ ।

यो आयोजना लामो समयसम्म अलपत्र परेपछि निजी क्षेत्रका जलविद्युत प्रवद्र्धकहरूले आफैं निर्माणको जिम्मेवारी लिएर काम सम्पन्न गरेका हुन् । यसलाई नेपालको ऊर्जा पूर्वाधार विकासमा निजी क्षेत्रको नयाँ उपलब्धि र सार्वजनिक–निजी साझेदारीको सफल नमूनाका रूपमा हेरिएको छ ।
यस प्रसारण लाइनको प्रारम्भिक निर्माणको जिम्मा चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपले २०७४ साल कार्तिकमा पाएको थियो । तर सात वर्षभन्दा बढी समय बितिसक्दा पनि कम्पनीले ८४ वटा टावरमध्ये केवल ३५ वटाको फाउण्डेसन र १० वटा टावरको इरेक्सन मात्रै सम्पन्न गर्न सकेको थियो । निर्माणको गति अत्यन्त सुस्त भएपछि नेपाल विद्युत प्राधिकरणले २०८१ साल मंसिर ५ गते उक्त निर्माणको जिम्मेवारी निजी क्षेत्रलाई हस्तान्तरण गरेको थियो ।

त्यसपछि २०८१ साल मंसिर ९ गते मस्र्याङ्दी करिडोरका सात जलविद्युत आयोजनाले संयुक्त रूपमा निर्माण अघि बढाउने निर्णय गर्दै करिब ४ करोड ९६ लाख ९५ हजार रुपैयाँ लगानी गर्ने गरी भीभा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीलाई निर्माणको जिम्मा दिएका थिए । प्रसारण लाइन निर्माणमा सहजीकरण र समन्वयका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का तत्कालीन उपाध्यक्ष एवं हालका बरिष्ठ उपाध्यक्ष एवं दोर्दीखोला जलविद्युत कम्पनीका सञ्चालक उत्तम ब्लोन लामाको नेतृत्वमा पिपुल्स हाइड्रोका आयोजना निर्देशक अर्जुन गौतम र आशुतोष इनर्जी लिमीटेडका अध्यक्ष मोहनविक्रम कार्की रहेको समिति निर्माण गरिएको थियो । समितिले प्रसारण लाइन आउने सबै समस्याहरुको समाधान गर्दै समयमै आयोजना निर्माण सम्पन्न गरेको हो ।

निजी क्षेत्रले जिम्मेवारी सम्हालेपछि निर्माण कार्यले तीव्र गति लियो। हालसम्म सबै ८४ वटा टावरको फाउण्डेसन सम्पन्न भएको छ भने ७८ वटा टावरको इरेक्सन सम्पन्न भइसकेको छ। गत वर्षसम्म शून्य प्रगति रहेको २८ किलोमिटर प्रसारण लाइन अहिले पूर्ण रूपमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
यस प्रसारण लाइनमा ५४ मेगावाटको सुपर दोर्दी, १२ मेगावाटको दोर्दी खोला–१, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८.६० मेगावाटको चेपे खोला तथा ९.०५ मेगावाटको सुपर चेपेखोला जलविद्युत आयोजनाले लगानी गरेका थिए । यी सबै आयोजना निजी क्षेत्रद्वारा प्रवद्र्धित हुन् ।

सात वर्षसम्म सम्पन्न हुन नसकेको आयोजना निजी क्षेत्रले डेढ वर्षमै पूरा गरेर नेपालको ऊर्जा पूर्वाधार विकासमा नयाँ इतिहास रचेको बताउँदै इप्पानका बरिष्ठ उपाध्यक्ष लामाले निजी क्षेत्रले उत्पादनमा मात्र सीमित नरही प्रसारण पूर्वाधार निर्माणमा पनि सक्षम रहेको पुष्टि गरेको बताए । ‘निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण गर्न दिएमा निजी क्षेत्र सक्षम छ भन्ने पुष्टि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर खण्डको निर्माण सम्पन्न गरेर देखाएको छ ।’

नेपाल विद्युत प्राधिकरणले पनि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर खण्डको निर्माण सम्पन्न भएको जनाएको छ । युरोपियन लगानी बैंकको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको उक्त प्रसारण लाइनलाई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्ने अन्तिम तयारी पूरा भएको प्राधिकरणले जनाएको छ।

तनहुँको आँबुखैरनीस्थित मार्कीचोकमा रहेको न्यू मस्र्याङ्दी सबस्टेसनदेखि चितवनको भरतपुर महानगरपालिका–आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म करिब २८ किलोमिटर लामो २२० केभी डबल सर्किट (हाललाई एक सर्किट मात्र चार्ज हुने) प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । प्राधिकरणका अनुसार यस लाइनमा २२० किलोभोल्ट विद्युत प्रवाह गरी परीक्षण सुरु गरिएको छ र परीक्षण सफल भएपछि लाइन नियमित सञ्चालनमा रहनेछ ।

यो प्रसारण लाइन मस्र्याङ्दी, दोर्दी, त्रिशूली नदी तथा तिनका सहायक खोलामा निर्माण भएका र निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न अत्यन्त महत्वपूर्ण मानिएको छ । प्रसारण पूर्वाधार अभावका कारण खेर जाने जोखिममा रहेको विद्युत अब राष्ट्रिय ग्रिडमार्फत उपभोग तथा व्यापारका लागि उपयोग गर्न सकिने भएको छ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसहित पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले यो उपलब्धिलाई नेपालको ऊर्जा विकासका लागि कोशेढुंगा भएको बताएका छन् । उनका अनुसार आफू नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक तथा पछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारीमा रहँदा यस आयोजनाको वित्तीय व्यवस्थापन, सहजीकरण र समन्वयलाई निरन्तर प्राथमिकतामा राखिएको थियो । अहिले आयोजना सम्पन्न भएको देख्दा अत्यन्त सन्तोष लागेको उनले बताएका छन्।

 

United long banner ad
Prev Post

ग्लोबल आइएमईमा उद्यमशाला कार्यक्रम

post-bars

Leave a Comment