आयल निगमको कार्यालयबाट पनि ग्यास बेचिने
काठमाडौं ।
नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ ।
हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन नेपाल आयल निगमलाई निर्देशन दिएकी थिइन् ।
त्यसैगरी, काठमाडौं उपत्यकामा बढी माग हुने ग्यास ब्रान्डको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरिएको छ । साथै एलपी ग्यासको आयात र वितरण नियमित भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौज्दात नगर्न निगमले अनुरोध गरेको छ ।
निगमका अनुसार दैनिक मागअनुसार एलपी ग्यासको आपूर्ति भइरहे पनि केही सञ्चार माध्यममा ग्यास अभाव भएको समाचार आएपछि त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बजारमा कुनै पनि प्रकारको अभाव हुन नदिन सबै ग्यास उद्योगलाई पर्याप्त आपूर्ति सुनिश्चित गर्न तथा बिक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न आग्रह गरिएको छ ।