Back To Top

June 9, 2026

कालीगण्डकी गर्ज को निर्माण सुरु

Global Ime Bank AD
Insourance

म्याग्दी:  म्याग्दी जिल्लामा हालसम्मकै ठूलो १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाले सोमबारदेखि अन्नपूर्ण गाउँपालिका–४ भालेबास क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ निर्माणको काम थालेको हो।

आयोजना निर्देशक रमण सिंहका अनुसार चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाअन्तर्गत पाँच किलोमिटर ६०० मिटर लामो सुरुङ निर्माण गरिनेछ। सुरुङ निर्माणका लागि बाँधस्थल, गाडपार र घरापमा प्रस्तावित विद्युत्गृह क्षेत्रसहित चार स्थानबाट काम अघि बढाउने तयारी गरिएको छ।

उनले मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामास्थित पहिरा थाप्लामा बाँध तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युत्‌गृह निर्माणको तयारी भइरहेको जानकारी दिए । विद्युत्‌गृह र बाँध निर्माणस्थलमा सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको छ।

‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनामा एक किलोमिटर लामो पेनस्टक पाइपलाइन रहनेछ भने विद्युत्‌गृहदेखि आउटलेटसम्मको उचाइ ४८० मिटर हुनेछ। आयोजनाका लागि प्रवर्द्धक कम्पनी, ठेकेदार तथा नेपाली सेनाका कार्यालय, आवास र विस्फोटक पदार्थ भण्डारण भवन निर्माण अन्तिम चरणमा पुगेका छन्।

आयोजना स्थलसम्म पहुँच विस्तार गर्न आठ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ। साथै, गाडपार क्षेत्रमा बेलिब्रिज जडानको तयारी भइरहेको छ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न घरापदेखि दानासम्म २२० केभी क्षमताको करिब एक किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ।

करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र प्रभु बैंकको लगानी रहने आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए । प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर लगानीको व्यवस्था पनि गरिएको उनकाे भनाइ छ।

United long banner ad
Prev Post

ग्लोबल आइएमईको नेतृत्वमा सुपर तमोरमा वित्त व्यवस्थापन

Next Post

विद्युत् महसुल बक्यौता उठाउन निर्देशन

post-bars

Leave a Comment