Back To Top

July 21, 2026

उपभोक्ताले खरिद बिल लिए सरकारी उपहार

Global Ime Bank AD
Insourance

काठमाडाै ।

वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले अनिवार्य रूपमा बिजक (बिल) लिने संस्कृतिको विकास, कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ।

अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले दिएको अधिकार प्रयोग गर्दै उक्त कार्यविधि स्वीकृत गरेको हो। मन्त्रालयका अनुसार कार्यविधि लागू भइसकेको छ।

कार्यविधिअनुसार स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको अधीनमा रही आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्नेछ। आवश्यक परे विभागले कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि कार्यक्रम आयोजक (इभेन्ट अर्गनाइजर) समेत छनोट गर्न सक्ने व्यवस्था गरिएको छ।

सरकारले यस कार्यक्रममार्फत उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिजक लिन उत्प्रेरित गर्ने, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने तथा कर छली न्यूनीकरण गर्दै पारदर्शी कारोबार प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

कार्यविधिअनुसार नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि एक पटकमा एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन योग्य हुनेछन्। प्रत्येक योग्य खरिदको बिजक वा विद्युतीय भुक्तानीका आधारमा प्रणालीबाट एक उपहार टिकट उपलब्ध गराइनेछ। प्रणालीमा प्रविष्ट गरिएको प्रत्येक बिजक एक पटकका लागि मात्र कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

हरेक महिनाको पहिलो दिनदेखि मसान्तसम्म विद्युतीय भुक्तानीमार्फत भएका खरिद तथा प्रणालीमा प्रविष्ट गरिएका बिजक सोही महिनाको उपहार कार्यक्रममा समावेश हुनेछन्। भुक्तानी सेवा प्रदायकमार्फत गरिएका योग्य विद्युतीय कारोबार भने स्वतः कार्यक्रममा समावेश गरिनेछ।

नगद वा अन्य माध्यमबाट खरिद गरेका उपभोक्ताले कार्यक्रममा सहभागी हुन चाहेमा बिजक जारी भएको तोकिएको अवधिभित्र विभागको प्रणालीमा बिजक नम्बर, विक्रेताको स्थायी लेखा नम्बर (प्यान), बिजक जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम तथा मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ। प्रणालीले विवरण प्रमाणीकरण गरेपछि मात्र त्यस्ता बिजक कार्यक्रमका लागि मान्य हुनेछन्।

कार्यविधिले केही प्रकारका बिजकलाई भने कार्यक्रममा सहभागी हुन अयोग्य ठहर गरेको छ। व्यावसायिक प्रयोजनका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाका नाममा जारी भएका बिजक, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानी सेवा, हवाई टिकट खरिदसम्बन्धी बिजक तथा प्यान नलिएका व्यक्तिबाट खरिद गरिएका बिजक कार्यक्रममा समावेश हुने छैनन्। एउटै बिजक वा एउटै विद्युतीय भुक्तानीका आधारमा एकभन्दा बढी पटक सहभागी हुन पनि पाइने छैन।

विजेता छनोटका लागि विभागले प्रत्येक महिनाको १ गते र १६ गते स्वचालित प्रणालीमार्फत ‘ड्र’ गर्नेछ। पहिलो चरणमा अघिल्लो महिनाको १६ गतेदेखि मसान्तसम्मका कारोबार र दोस्रो चरणमा सोही महिनाको १ गतेदेखि १५ गतेसम्मका कारोबारका आधारमा सहभागीमध्येबाट विजेता चयन गरिनेछ।

कार्यविधिअनुसार प्रत्येक दिन एक जना विजेता तथा हरेक १५ दिनमा एक जना बम्पर विजेता छनोट गरिनेछ। विजेता छनोटका क्रममा उच्चपदस्थ व्यक्ति, विभिन्न निकायका प्रतिनिधि तथा सञ्चारकर्मीलाई समेत आमन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ। विजेताको नाम मोबाइल नम्बर, इमेल, विभागको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।

दैनिक विजेताले एक लाख ३३ हजार ३३४ रुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् भने पाक्षिक बम्पर विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ। उपहार रकम वितरण गर्दा आयकर ऐन, २०५८ अनुसार आकस्मिक लाभमा लाग्ने २५ प्रतिशत कर कट्टी गरिनेछ।

उपहार प्राप्त गर्न विजेताले घोषणा भएको मितिले १५ दिनभित्र सक्कल बिजक, नागरिकता वा अन्य आधिकारिक परिचयपत्र, बैंक खाताको विवरण तथा स्थायी लेखा नम्बर सहित नजिकको आन्तरिक राजस्व कार्यालयमा आफैँ वा वारेसमार्फत निवेदन दिनुपर्नेछ। कार्यालयले पेश भएका कागजात १० दिनभित्र परीक्षण गरी विभागमार्फत विजेताको बैंक खातामा उपहार रकम जम्मा गर्नेछ।

United long banner ad
Prev Post

एउटा रुखले देशैभर ब्ल्याक आउट

post-bars

Leave a Comment