१४ अैा दिनमा यसरी नरन्तर छ सुरुङ उद्दार
काठमाडाै ।
भोटेकोसी हिमबाढीपछि रसुवा र नुवाकोटका बाढी प्रभावित जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार जारी राखिएको छ।
२१६ मेगावाटको माथिल्लो त्रिशूली-१, १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवा भोटेकोसी, २० मेगावाटको लाङटाङ खोला र ६० मेगावाटको त्रिशूली थ्री ए र ३७ मेगावाटको त्रिशूली थ्री बीमा उद्धार जारी छ।
बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ आयोजना सोमबार पनि सुरुङ तथा हेडवर्क्समा हराइरहेकाहरूको खोजीको काम जारी राखिएको छ। खोजीका लागि आईआर ड्रोनले डिसेन्डर बेसिनमा पुरै खोजतलास गरिएको थियो। उद्धारमा नेपाली सेना, नेपाल ड्रोन एसोसिएसन, कोरियाली उद्धार टोली, शेर्पासहितको टिम सहभागी छ भने तालिमप्राप्त सर्च डग (कुकुर)ले पनि हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ।
सोमबार तालिम प्राप्त सर्च कुकुरले मैलुङ क्षेत्रमा खोज गरे पनि केही नभेटिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ। सोमबार माथिल्लो त्रिशूली–१ को अडिट नम्बर १, ३ र हेडवर्क्स क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरबाट मिनी एक्स्काभेटरलगायतका उपकरण हेलि लिफ्टिङ गरेर लैजान प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले नेपाली सेनासँग समन्वय गरे पनि सीमित ठाउँ बाँकी रहेको तथा जटिल भौगोलिक अवस्थाका कारण अवतरण हुन नसकेपछि उद्धार कार्य प्रभावित बनेको छ।
नेपाली सेनाका अनुसार विदेशीसहितको संयुक्त टोलीले मुख्य प्रवेश टनेलको करिब ४०० मिटरसम्म प्रवेश गरी खोजतलास गर्दा केही फेला नपरेको जनाएको छ।
भदौ १० को बाढी आउनुअघि आयोजनास्थलमा कुल १ हजार ४३३ जना कार्यरत थिए। त्यसमध्ये हालसम्म ८७८ जनाको उद्धार भइसकेको छ। बाँकी भने सम्पर्कविहीन छन्। सम्पर्कविहीन रहेका ५४५ मध्ये ९ जना कोरियाली, ३४ चिनियाँ र ५० भारतीय नागरिक छन्।
भदौ २० गते उद्धारटोलीले माथिल्लो त्रिशूली-१ को अडिट ४ सुरुङबाट एक जना चिनियाँ नागरिकको उद्धार गरेको थियो। उनलाई बाढी गएको ११औँ दिनमा उद्धार गरिएको थियो। त्यसअघि भदौ १९ गते खोजीका क्रममा हराइरहेका ६ जनाको शव फेला परेको थियो।
यस्तै, माथिल्लो त्रिशूली थ्री ‘बी’मा पनि बाढीपछि सम्पर्कविहीन भइरहेकाहरूको खोजी जारी राखिएको छ। प्रवर्द्धक कम्पनी त्रिशूली जलविद्युत कम्पनीका अनुसार आयोजनास्थलमा अहिले तीनवटा ठूला एक्स्काभेटर र एउटा जेसीबीसहितको मेसिनरी उपकरण पुर्याएर आयोजनाको आवास क्षेत्र, कार्यालय भवन परिसरको उत्खननको कामलाई तीव्रता दिइएको छ।
नेपाली सेनाको १०० जना र आयोजना प्रतिनिधिसहितको संयुक्त टोलीले बबक्याट प्रयोग गरी आयोजनाको कार्यालय तथा आवास गृह इलाकामा करिब १० फिट गहिराइसम्म खन्दा कुनै पनि भौतिक संरचना फेला नपरेको जनाएको छ। थप चारवटा एक्स्काभेटर प्रयोग गरी खोजी कार्य भइरहेको सेनाले जनाएको छ।
यसअघि माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनाको खोजी तथा उद्धारमा प्रयोग गरिएका २ वटा र एउटा प्रवर्द्धक कम्पनीले व्यवस्थापन गरेको गरी ३ वटा एस्काभेटर मेसिन आयोजनाको आवास तथा कार्यालय रहेको क्षेत्रमा पुर्याएर उत्खनन थालिएको हो।