‘वन डढेलोले जैविक विविधतामा खतरा’

काठमाडौ,
नेपालमा चुनौतिपूर्ण बन्दै गएको वन डढेकोका कारण उच्च कार्बन उत्सर्जनका साथै जैविक विविधतामै संकट आउने खतरा रहेको एक अध्ययनले देखाएको छ ।
इन्फर्मेशन जियोग्राफी नामक जर्नलमा प्रकाशित अध्ययनअनुसार नेपालका जंगलहरू जलवायु परिवर्तनका कारण डढेलोको बढदो र गम्भीर जोखिममा छन्। सो प्रतिवेदनले अनुमान गरे अनुसार यदि डढेलोको जोखिम नियन्त्रण गरिएन भने १७० मिलियन टन माटो कार्बन र ३२५ मिलियन टन काठ कार्बन वातावरणमा पुग्नेछ । यसले जलवायु चुनौतीलाई थप गम्भीर बनाउने औल्याइएको छ ।
बढ्दो संकट
अध्ययन अनुसार लुम्बिनी, मधेश, र सुदूरपश्चिम प्रदेश सबैभन्दा उच्च वन डढेलो जोखिममा छन्। नेपालका २० मध्ये ६ वटा संरक्षित क्षेत्र नै यसको उच्च जाखीममा छन् । चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज, चरम खतरा सामना गरिरहेको र यसले दुर्लभ वन्यजन्तुहरू—बंगाली बाघ, एक सिंगे गैँडा, र जङ्गली हात्तीलाई जोखिममा पार्छ। साथै, काठमाडौँलगायतका प्रमुख सहरहरूको हावाको गुणस्तर झन् बिग्रिन सक्छ।
नेपालमा वन डढेलोे सुरुवात भै सकेको छ। हालैको तथ्याङ्क अनुसार, यस बर्ष ५३ जिल्लाका ४३६ स्थानमा वन डढेलो लागिरहेको छ। यसको खतरा अप्रिल तथा मे महिनामा उच्च बिन्दुमा पुग्छ। लस एन्जलसजस्तै, नेपाल पनि कार्बन–तापमानको दुष्चक्रमा फसेको प्रतिवेदनका प्रमुख लेखक क्षितिज दाहालले औल्याए । उनी एरिजोना स्टेट युनिभर्सिटी का विद्यावारिधि विद्यार्थी हुन् । “तर मुख्य भिन्नता के छ भने, नेपालका डढेलोहरूले त्यस्ता जैविक विविधतालाई खतरामा पार्छन् जुन पृथ्वीको अन्य कुनै ठाउँमा पाइँदैन,” उनले भने ।
काठमाडौं फरेस्ट्री कलेजका प्राध्यापक डा. अम्बिका प्रसाद गौतमले डढेलोका कारण नेपालले महत्वपूर्ण जैविक विविधता गुमाउने खतरा रहेको औल्याउँदै हाम्रो वन र त्यसमा निर्भर जनतालाई जोगाउन तुरुन्तै प्रभावकारी डढेलो नियन्त्रण रणनीति आवश्यक रहेको बताए ।
ज्याक्सन स्टेट युनिभर्सिटीका विज्ञ डा. रकि ताल्चाभडेलले भने, “ सन् २००१ देखि नेपालका दक्षिणी क्षेत्रमा वन डढेलोको जोखिम बढ्दै गएको छ। यदि तुरुन्तै केही नगरिएमा, यी डढेलोहरूले दशकौंको संरक्षण प्रयासलाई ध्वस्त पार्न सक्छ।”
अध्ययनमा संलग्न बिज्ञहरुले तत्काल वन डढेलो रोकथाम रणनीति अपनाउन आग्रह गरेका छन । यसका लागि सामुदायिक गस्ती समूह, एआई–आधारित प्रारम्भिक चेतावनी प्रणाली, र अन्तरदेशीय सहकार्य आवश्यक रहेको औल्याइएको छ ।
सो अनुसन्धानमा एरिजोना स्टेट युनिभर्सिटी, ज्याक्सन स्टेट युनिभर्सिटी, ग्रोनिङ्गन विश्वविद्यालय, र काठमाडौं फरेस्ट्री कलेज का अनुसन्धानकर्ताहरू संलग्न थिए।