Back To Top

August 23, 2026

बिजुली महसुल परिवर्तन गर्ने सरकारकाे तयारी

Global Ime Bank AD
Insourance

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत महसुल तथा धेरै विद्युत खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन् ।

मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका प्रतिनिधिसँग आइतबार  विराटनगरमा भएको छलफलमा उनले वर्षायाममा बढ्ने विद्युत उत्पादनलाई उद्योग तथा अन्य क्षेत्रमा अधिकतम उपयोग गर्ने गरी महसुल संरचनामा आवश्यक सुधार गर्न सरकार केन्द्रित रहेको बताएका हुन् ।

मन्त्री श्रेष्ठको सचिवालयका अनुसार उद्योगको उत्पादन लागत घटाउने, विद्युत खपत बढाउने र प्रणालीमा उपलब्ध अतिरिक्त विद्युत्लाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले विद्युत महसुललाई थप व्यावहारिक बनाउने विषयमा सरकारले काम गरिरहेको जानकारी दिए ।

मन्त्री श्रेष्ठका अनुसार सुनसरी-मोरङ क्षेत्रमा नौ वटा नयाँ सबस्टेसन थपिँदै छन् । ती सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्रमा विद्युत आपूर्ति थप भरपर्दो र दिगो हुने अपेक्षा गरिएको उनले बताए ।

उद्योगी-व्यवसायीले भोगिरहेका विद्युत्सम्बन्धी समस्या सरकारका लागि गम्भीर विषय भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले उद्योगलाई निरन्तर र गुणस्तरीय विद्युत उपलब्ध गराउने तथा विद्युत प्रयोगका कारण उद्योगमा अनावश्यक अतिरिक्त भार नपर्ने गरी महसुल समायोजन गर्ने विषयमा सरकार संवेदनशील रहेको बताए ।

उनले उद्योग स्थापना गर्नुअघि आवश्यक विद्युत क्षमता, प्रसारण लाइन र आपूर्ति संरचनाको उपलब्धताबारे स्पष्ट जानकारी प्राप्त हुने व्यवस्था आवश्यक रहेको बताए ।

नेपाल विद्युत प्राधिकरणले विभिन्न क्षेत्रमा उपलब्ध विद्युत् क्षमता र पूर्वाधारबारे नियमित रूपमा उद्योगी-व्यवसायीलाई जानकारी गराउने तथा उद्योग स्थापना गर्नुअघि विद्युत उपलब्धताको अवस्था स्पष्ट गर्ने प्रणाली विकास गर्नुपर्ने उनको भनाइ थियो ।

United long banner ad
Prev Post

कर्णालीमा विद्युत् विस्तार तीव्र : ऊर्जामन्त्री श्रेष्ठ

post-bars

Leave a Comment