नेप्सेको सीईओका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त खुलेको छ ।
खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्ति गर्न गठित सिफारिस समितिले सोमबार सूचना जारी गरी धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को क बमोजिम योग्यता पुगेका उम्मेदवारबाट दरखास्त माग गरिएको हो ।
उम्मेदवारहरु अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ ।
साथै पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तिमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।
अर्थ मन्त्रालयले नेप्सेको कार्यकारी अधिकृत नियुक्ति गर्ने प्रयोजनार्थ सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेल छन् ।
कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै माघ २५ गतेदेखि नेप्से सीईओविहीन छ ।