माथिल्लो म्याग्दी–१ को सुरुङ निर्माण सुरु

म्याग्दी:
५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न सुरु गरिएको हो ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले धवलागिरि–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउन १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण गरिरहेको छ । विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्याक्टरले निर्माणस्थलमा पर्याप्त मात्रामा जनशक्ति निर्माण सामग्री र उपकरणको बन्दोबस्त मिलाएको आयोजना प्रमुख केसीले जानकारी दिए । विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युत्गृह निर्माणको कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ ।
