पर्यटन पुनः गतिशील: पर्यटन बोर्ड

काठमाडौं । नेपाल पर्यटन बोर्डले देशभर शान्ति, स्थिरता र सामान्य अवस्था पुनः स्थापित भएको र पर्यटन पुनः गतिशील भएको जनाएको छ । बोर्डले नेपालमा टुर आयोजना गर्ने विदेशीहरूको जानकारीका लागि विज्ञप्ति जारी गरी पर्यटकका लागि नेपाल फेरि पूर्णरूपमा खुला भएको जनाएको हो ।
‘नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनसँगै दैनिक जीवन सामान्य बनेको छ । व्यवसाय तथा कार्यालयहरू खुलेका छन् । आंशिक रूपमा लगाइएका कर्फ्यु र यात्रासम्बन्धी प्रतिबन्ध हटेपछि नागरिक आशावादी ढंगले जीविकोपार्जनमा फर्किएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
सोमबारदेखि सुरु भएको जेन-जी आन्दोलन प्रधानमन्त्रीमा सुशीला कार्की चयन भएसँगै शुक्रबार एक प्रकारले अन्त्य भएको छ । शनिबारदेखि नै सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, होटल, रेस्टुरेन्ट र प्रमुख पर्यटकीय स्थलहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् ।
‘नेपालका व्यवसायीहरू सुरक्षित, सहज वातावरणमा पाहुनाहरूलाई स्वागत गरिरहेका छन्,’ बोर्डले विज्ञप्तिमा भनेको छ, ‘नेपालको पर्यटन विगतका प्राकृतिक प्रकोप र राजनीतिक चुनौतीहरूपछि पनि निरन्तर उकासिँदै आइरहेको छ । यसले नेपाली जनताको दृढ आत्मा, अन्तर्राष्ट्रिय पर्यटन समुदायको सहयोग, हिमाल, सांस्कृतिक सम्पदा र पवित्र स्थलहरूको कालजयी आकर्षणलाई झल्काएको छ ।’
विश्वका अन्य गन्तव्यहरूले पनि राजनीतिक अस्थिरतापछि छिट्टै पुनरुत्थान गर्ने क्षमता देखाएको र नेपाल पनि यसमा अपवाद नरहेको बोर्डले उल्लेख गरेको छ । नेपालको पर्यटन क्षेत्र फेरि पहिलाभन्दा बलियो भएर फर्किने छनक देखिएको विश्वास पनि बोर्डले व्यक्त गरेको छ ।
’नेपाल अब सुरक्षित, शान्त र विश्वभरिका आगन्तुकलाई स्वागत गर्न तयार छ, ’बोर्डले भनेको छ, ‘यात्रासम्बन्धी ताजा जानकारीका लागि पर्यटकहरूले बोर्डको अफिसियल पेज वा कार्यालयहरूमा सम्पर्क गर्न सक्नेछन् ।’
विशेषगरी युवाको नयाँ आशा र आत्मविश्वासले सुशासन र सामाजिक-आर्थिक समृद्धिमा विश्वास बढाएको भन्दै बोर्डले विदेशी पर्यटकलाई नेपालमा निर्धक्क आवागमन गर्न अनुरोध गरेको छ ।
