त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चिकालका लागि बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश एवम् विषम परिस्थितिका कारण विमानस्थलको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मको लागि बन्द भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन समेत आग्रह गरिएको छ ।
प्राधिकरणले विमानस्थल खुलेको सूचना पाएपछि सम्बन्धित वायु सेवा निगममा सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन अनुरोध गरेको छ ।
सबै आन्तरिक उडान बन्द
मुलुकमा सोमबार र मंगलबार भएका आन्दोलन र हिंसाका घटनाका कारण यात्रुहरूलाई विमानस्थल आवतजावतका लागि बाधा उत्पन्न भएको देखिएका कारणले विमानस्थलहरूबाट हुने उडान सबै बन्द गरिएको संघले जनाएको छ ।
‘विमानस्थल खुल्नासाथ संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्ना उडानहरू पूर्ववत् सञ्चालन गर्नेछन्,’ विज्ञप्तिमा छ, ‘सम्पूर्ण यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी समयमा नै विमानस्थल पुग्न सहयोग गरिदिन अनुरोध छ ।’
