भदौ ३० गतेदेखि सुपथ मूल्य पसल

काठमाडौं ।
- दशैँ, तिहार र छठलाई लक्षित गरी सरकारले भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपश्चात खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशैभर सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय भएको हो ।
निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभर १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ। त्यस्तै साल्ट ट्रेडिङले ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । यस्ता सुपथ मूल्य पसलमा खाद्यान्नमा प्रतिकिलो १० रुपैयाँसम्म छुट हुने बताइएको छ ।
सुपथ मूल्य पसलमा सबै किसिमका चामल, गहुँका दाना र चिनीमा दाल, गेडागुडी (चना, भटमास र केराउसमेत) मा प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ ।
यसैगरी, तोरी, सनफ्लावर र भटमासको तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट र चिउरा, आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँका दरले नै छुट पाइनेछ । सुपथ मुल्य पसलमा जिरा, धनिया र चियापत्ती, कर्णालीको सीमी तथा फापर (दाना), चिनो, कागुनो र मार्सी तथा बासमती चामलमा पनि उपभोक्तालाई प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भएको छ ।
जिाउँदो खसी, बोका र च्याङ्ग्रा पनि प्रतिकिलो १० रुपैयाँ छुटमा बिक्री गरिने भएको छ । सबै वस्तुहरुको निःशुल्क होम डेलिभरी सेवा पनि उपलब्ध गराइनेछ । यसैगरी, साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्य पसलबाट नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ, तेल, चिउरा, पिठो, मैदा र दाल प्रतिकिलो ७ रुपैयाँ छुटमा उपभोक्तालाई उपलब्ध गराउने निर्णय भएको छ ।
