श्रमिक र परिवार स्वस्थ्यको जिम्मा सामाजिक सुरक्षा कोषले लिँदै

काठमाडौं ।
सामाजिक सुरक्षा कोषले अबको चार वर्षभित्रमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको सम्पूर्ण स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ ।
कोषको सचिवालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमार्फत राज्यले स्वास्थ्यको जिम्मा लिने लिने गरी काम भइरहेको स्पष्ट पारेका हुन् ।
योगदानकर्ताको स्वास्थ्योपचारसम्बन्धी सुविधालाई विस्तार गर्दै लगिएको अधिकारीले जानकारी दिए । औपचारिक क्षेत्रका श्रमिकको परिवारमा स्वास्थ्य सेवा विस्तार भई चालु आर्थिक वर्षमा कार्यान्वयनमा आइसकेको उनले बताए ।
‘आजभन्दा पाँच वर्षअघि योगदानकर्तामा सीमित रहेको स्वास्थ्य उपचार सेवा अहिले योगदानकर्ताको परिवारमा समेत विस्तार भइसकेको छ,’ उनले भने, ‘औषधि उपचारको एक लाखको सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा १० लाखसम्मको उपचार खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधासमेत उपलब्ध गराइएको छ ।’
रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा उल्लेख्य वृद्धि भएको उनले जानकारी दिए । कार्यकारी निर्देशक अधिकारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकबाट हुने योगदान रकमको नियमितताका लागि प्रयास जारी रहेको बताए ।
गत आवसम्ममा कोषमा २० हजार ९९१ रोजगारदाता र २३ लाख ७४ हजार ४८६ योगदानकर्ता आबद्ध भएका छन् । गत आवमा मात्रै आठ लाख ८२ हजार ९४६ श्रमिक कोषमा आबद्ध भएका छन् ।
औपचारिकतर्फ ६ लाख १ हजार ८२५, वैदेशिक क्षेत्रतर्फ १७ लाख ७१ हजार ५३७ तथा अनौपचारिक र स्वरोजगार क्षेत्रतर्फका श्रमिकको संख्या १ लाख १२४ संख्या छ । आव २०८१/८२ मा थप २५ अर्ब ३६ करोड योगदान रकम संकलनसहित कुल योगदान रकम संकलन ८३ अर्ब ६५ करोड पुगेको छ ।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत १ लाख १० हजार ६९६ योगदानकर्तालाई २ अर्ब १५ करोड र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ५ हजार ९३३ योगदानकर्तालाई २० करोड भुक्तानी गरेको छ । त्यस्तै, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ७४५ जनालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत १ लाख १२ हजार ८६८ योगदानकर्तालाई १३ अर्ब १३ करोड भुक्तानी भएको कोषले जनाएको छ ।
आव २०८१/८२ मा थप ३ लाख ६२ हजार वटा दाबी भुक्तानीमार्फत ५ अर्ब ८७ करोड रकमसहित कुल ७ लाख ५६ हजार वटा दाबी भुक्तानीमार्फत हालसम्म कुल १५ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी गरिएको कोषका प्रवक्ता एवं उपकार्यकारी निर्देशक कृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार कोषले विशेष सापटी ६ अर्ब ९० करोड, घर सापटी १३ करोड र शैक्षिक सापटी एक करोड गरी कुल ३४ हजार ९७ योगदानकर्तालाई सात अर्ब चार करोड सापटी भुक्तानी गरेको छ ।
‘कोषको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन आव २०८१/८२ मा थप २४ वटासहित कुल १०७ वटा स्वास्थ्य संस्थासँग स्वचालित प्रणाली जडान गरी सेवा प्रवाह भइरहेको छ,’ प्रवक्ता अधिकारीले भने । वैदेशिक रोजगारी एवं स्वरोजगारीमा रहेका व्यक्तिहरुको कोषमा योगदान रकम संकलन कार्यलाई थप सहज बनाउन १२ वटा वित्तीय संस्थासँग आवश्यक सहकार्यका लागि सम्झौता गरिएको पनि उनले जानकारी दिए ।
