नेपालमा आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई आग्रह

काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्ने स्पेनिस व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
बुधबार सपेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका थुप्रै सम्भावना रहेको भन्दै स्पेनी व्यवसायीहरूलाई लगानीका लागि आग्रह गरे ।
स्पेन वाणिज्य तथा उद्योग महासंघका सदस्यहरू, व्यापारिक समुदायका अगुवाहरू, नेपाली समुदायका प्रतिनिधिहरू र कूटनीतिक व्यक्तित्वहरू सहभागी कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा दुई देशबीच सहकार्यको बलियो सम्भावना रहेको धारणा राखे ।
नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा पर्यटन उद्योग रहेको चर्चा गर्दै अध्यक्ष ढकालले सगरमाथादेखि लिएर भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्मका स्थलहरूको विशेष धार्मिक, सांस्कृतिक र प्राकृतिक आकर्षण रहेको बताए । उनले गुणस्तरीय सेवा र पूर्वाधारमा लगानी गर्न सके नेपालले विश्वभरका पर्यटकहरूलाई थप आकर्षित गर्न सक्ने विश्वास व्यक्त गरे ।
नेपालसंग स्वच्छ ऊर्जामा विशाल सम्भावना रहेको,४० हजार मेगावाटभन्दा बढी जलविद्युत् क्षमताको उपयोग हुन बाँकी रहेको र क्षेत्रीय विद्युत् व्यापार बढाउँदै नयाँ प्रसारण पूर्वाधार निर्माण भइरहेकाले स्पेनी कम्पनीहरूका लागि यो उपयुक्त समय भएको उनले बताए । स्पेन विश्वकै सफल पर्यटन उद्योगमध्ये एक भएको नेपाली व्यवसायीहरु पनि त्यो अनुभव र प्रविधिबाट सिक्न उत्सुक रहको चर्चा गर्दै स्पेनी व्यवसायिक समुदायलाई नेपाल भ्रमणका लागि लागि आमन्त्रण पनि गरे ।
