Back To Top

January 29, 2025

सामाजिक सञ्जालको अराजकता रोक्न विधेयक

Global Ime Bank AD

काठमाडौं । सरकारले सामाजिक सञ्जालको अराजकता रोक्न आक्रामक हुने गरी विधेयक ल्याएको छ । सञ्चार मन्त्रालयले मंगलबार राष्ट्रिय सभामा दर्ता गराएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत हुने अराजकता रोक्न कडाइ गर्ने भएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकटक र ट्वीटर (एक्स) लगायतमाफर्त अरुको मानहानी गर्ने, अराजकता फैलाउने, भ्रामक सूचनासहितका सामग्रीमार्फत आतंक फैलाउने कामलाई नियन्त्रण गर्न यो विधेयक ल्याएको सरकारको भनाइ छ । यो विधेयकमाथि संसदको दुबै सदनमा आवश्यक छलफल भएर पारित भएपछि ऐन बन्ने छ । ऐन बनेर आएपछि त्यसको व्यवहारिक कार्यान्वयन हुने छ ।

सामाजिक सञ्जालमार्फत आशिका तामाङ, दुर्गा प्रसाईं, निकोलस भुषाल लगायतका कयौं व्यक्ति र समूहले अराजकता फैलाइरहँदा यस्तो विधेयक सरकारले अघि सारेको हो । सामाजिक सञ्जाल विधेयक नहुँदा सरकारले यसअघि सामाजिक सञ्जालबाट फैलाउने अराजकतालाई साइबर क्राइमममा कारबाही गर्दै आएको छ । अब यो विधेयक पास भएपछि भने सामाजिक सञ्जाल ऐनमार्फत नै कारबाही गर्ने छ ।

सरकारले प्रतिनिधिसभामा दर्ता गराएको यो विधेयकमा अरुको भ्रामक पोस्ट सेयर, कमेन्ट गर्ने, सामाजिक सञ्जालमा नकारात्मक सन्देश प्रभाव गर्ने, आतंकित बनाउने, राष्ट्रिय हित विपरितका गतिविधि पोष्ट गर्नेसहितको गतिविधि गर्न नपाइने भएको हो । सामाजिक सञ्जालमा पोष्ट हुने गतिविधि तथा सेयर कमेन्टमा भने हरेक प्रयोगकर्ता सचेत हुनुपर्ने व्यवस्था पनि सामाजिक सञ्जाल विधेयकले गरेको छ ।

सरकारले ल्याएको विधेयकमा कसैको आइडी तथा सूचना ह्याक गर्नेलाई तीन वर्षसम्म कैद सजाय गर्ने व्यवस्था गरेको छ । कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको पासवर्ड वा सिरियल नम्बर क्र्याक गरी कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको गुप्त संकेत, पासवर्ड वा सिरियल नम्बर चोरी गरी अनधिकृत रूपमा पहुँच प्राप्त गरी तथ्यांक भण्डारमा हस्तक्षेत्र गर्नुलाई ह्याक भनेको र सो कार्य गरे कारवाही गर्ने उल्लेख छ ।

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कसैको आइडी तथा सूचना ह्याक गर्न नपाइने उल्लेख गरेको छ । ह्याक गर्नेलाई तीन वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने उल्लेख छ ।

विधेयकले कसैको मान प्रतिष्ठामा आँच पुग्ने, होच्याउने नियतले, अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच प्रवाह गर्न नपाइने र सो कार्य गरेर ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ ।

 

सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले अनुमतिपत्र लिनुपर्ने, अनुमतिपत्र २/२ वर्षमा नवीकरण गर्नुपर्ने, नवीकरण गर्ने कारवाही गर्ने व्यवस्था विधेयकमा राखेको छ । सामाजिक सञ्जालमार्फत भ्रम फैलाए वा तोकिएको शर्त पूरा नगरे २५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था सामाजिक सञ्जाल विधेयकमा प्रस्ताव गरिएको छ ।

समाजिक सञ्जालबाट प्रसार भएको विषयवस्तुले कसैलाई क्षति पुगेको अवस्थामा क्षतिपूर्तिसमेत पीडितलाई भराउने व्यवस्था पनि विधेयकले गरेको छ । यो विधेयकले बेनामी वा छद्मभेषी नाममा पोस्ट भए ५ वर्षकैदेखि १५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेका छ ।

सामाजिक सञ्जाल विधेयकको मुख्य व्यवस्था र सजाय

राष्ट्रिय हित प्रतिकुल हुने कार्य गर्न नहुनेः
सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्र हित वा सङ्घीय इकाइ बीचको सु–सम्बन्धमा प्रतिकूल असर हुने गरी वा वर्गीय, जातीय, धार्मिक, सांस्कृतिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा वा द्वेष उत्पन्न हुने कुनै काम गर्न वा गराउन वा विभिन्न जात, जाति वा सम्प्रदाय बीचको सु– सम्बन्धमा खलल पार्ने विषय सामाजिक सञ्जालमा प्रसार गर्न वा गराउने नहुने । याे व्यवस्था विपरित कार्य गरे ५ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

साइबर बुलिङ गर्नु नहुने
कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गरी साइबरस्पेसमा गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिन्ह, चित्र, तस्बिर, स्केच, फोटो, अडियो, भिडियो, श्रव्य दृष्य, संकेत वा सन्देश पठाउने, पोष्ट गर्ने, सेयर गर्ने वा सोही कार्यबाट कसैलाई सताउने, तर्साउने, धम्काउने, लज्जित गराउने, अपमान गर्ने, मानमर्दन गर्ने वा अफवाह फैलाउने गरी आवाजको नक्कल गर्ने जस्ता साइबर बुलिङ गर्नु नहुने । याे व्यवस्था विपरित कार्य गरे २ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन् सक्ने व्यवस्था विधेयकले गरेकाे छ ।

साइबर स्टकिङ गर्नु नहुने
कसैले इन्टरनेट प्रविधिको प्रयोग गरी कसैलाई झुट्टा आरोप लगाउने, धम्की दिने, जालसाजी गर्ने, दुव्र्यवहार गर्ने, निगरानी गर्ने, वैयक्तिक गोपनीयता भङ्ग गर्ने, बारम्बार अनावश्यक सन्देश पठाउने, गोप्य जानकारी खुलासा गर्ने वा वैयक्तिक सुरक्षामा खतरा पुयाउने कार्य गरी कसैलाई हैरानी दिई साइबर स्टकिङ्गको कसूर गर्नु वा गराउन नहुने । याे व्यवस्था विपरित कार्य गरे ३ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने व्यवस्था विधेयकले गरेकाे छ ।

कसैको आईडी तथा सूचना ह्याक गर्नु नहुने
कसैको कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको पासवर्ड वा सिरियल नम्बर क्य्राक गरी त्यस्तो कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको गुप्त सङ्केत, पासवर्ड वा सिरियल नम्बर चोरी गरी त्यस्तो कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालमा अनधिकृत रुपमा पहुँच प्राप्त गरी तथ्याङ्क भण्डारमा हस्तक्षेप गरी कसैको आइडी तथा सूचना ह्याक गर्नु नहुने । याे व्यवस्था विपरित कार्य गरे ३ वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था विधेयकले गरेकाे छ ।

फिसिङ वा इम्पोस्टर स्क्याम गर्न नहुने
विद्युतीय सञ्चार माध्यमबाट कुनै कुरा सत्य हो भन्ने विश्वासमा पारी कुनै व्यक्तिको युजरनेम र पासवर्ड, क्रेडिट कार्ड नम्बर, बैङ्क एकाउन्ट जस्ता संवेदनशील सूचना प्राप्त गरी फिसिङ गर्नेलाई र कुनै व्यक्तिले अरू कसैबाट पैसा वा व्यक्तिगत विवरण चोर्ने उद्देश्यले फोन वा इमेल वा विद्युतीय उपकरण वा प्रणालीद्वारा आफू चिनजान भएको वा विश्वास गर्न योग्य व्यक्ति भएको भन्ने विश्वासमा पारी उपहार वा पुरस्कार पठाउन व्यक्तिगत पासवर्ड र संवेदनशील जानकारी लिएर पछि कुनै रकम माग गरी इम्पोष्टर स्क्याम गर्नु नहुने । याे व्यवस्था विपरित कार्य गरे ३ वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था विधेयकले गरेकाे छ ।

सेक्सटोर्सन र एक्सटोर्सन गर्न नहुने
कसैको नितान्त व्यक्तिगत तथा निजी तस्बीर, अडियो वा भिडियो सामाजिक सञ्जालको प्रयोग गरी सार्वजनिक गर्ने वा कसैसँग सेयर गर्ने धम्की दिई यौन शोषण, आर्थिक लाभ वा हिंसाका लागि बाध्य पार्ने सेक्सटोर्सनको कसूर गर्नेलाई र कसैले कुनै व्यक्तिलाई सामाजिक सञ्जालको प्रयोग गरी निज वा अरु कसैलाई कुनै क्षति पुर्याउने डर त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गरी एक्सटोर्सन गर्नु नहुने । याे व्यवस्था विपरित कार्य गरे ३ वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था विधेयकले गरेकाे छ ।

बीभत्स तस्बिर वा अडियो वा भिडियो पोस्ट वा सेयर गर्न नहुने
कसैले सामाजिक सञ्जालमा बीभत्स तस्बिर वा अडियो वा भिडियो पोष्ट वा सेयर गर्नु नहुने व्यवस्था भएकाे छ । याे व्यवस्था विपरित कार्य गरे ३ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था विधेयकले गरेकाे छ ।

अश्लिल मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्नु नहुने
सामाजिक सञ्जालको प्रयोग गरी अश्लील शब्द, तस्बिर, सङ्केत, भिडियो, अडियो, मिथ्या वा भ्रामक सूचना प्रसार गर्न, त्यस्तो सूचनाको दुष्प्रचार वा तोडमरोड वा कमेन्ट गर्नु नहुने व्यवस्था विधेयकले गरेकाे छ । याे व्यवस्था विपरित कार्य गरे २ वर्षसम्म कैद सजाय वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था विधेयकले गरेकाे छ ।

डिपफेक भिडियो अपलोड वा प्रसार गर्नु नहुने
कसैले सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी कुनै व्यक्तिको अनुहार, आवाज वा हाउभाउलाई नक्कल वा प्रतिस्थापन गरी गलत सूचना प्रवाह गर्ने, अश्लीलता फैलाउने वा चरित्रहत्या गर्नु नहुने व्यवस्था विधेयकले गरेकाे छ । याे व्यवस्था विपरित कार्य गरे २ वर्षसम्म कैद सजाय वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था विधेयकले गरेकाे छ ।

बेनाम वा छद्मभेषी पहिचान बनाउन वा प्रयोग गर्नु नहुने
सामाजिक सञ्जालमा बेनामी वा छद्मभेषी (फेक आइडी, पेज, समूह) वा अरुको नामबाट पहिचान सिर्जना गर्ने, त्यस्तो बेनामी वा छद्मभेषी पहिचान मार्फत विषयवस्तु उत्पादन गरी पोष्ट वा सेयर गर्ने, अरूको विषयवस्तु सेयर गर्ने, कमेन्ट वा कल गर्नु नहुने व्यवस्था विधेयकले गरेकाे छ । याे व्यवस्था विपरित कार्य गरे ३ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै व्यवस्था विधेयकले गरेकाे छ ।

Global Ime Bank
Prev Post

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

Next Post

छ महिनामा भित्रिए १३ अर्बको ईभी

post-bars

Leave a Comment