Back To Top

April 23, 2025

नेपालमा हिमचितुवाको संख्या ३९७

Global Ime Bank

काठमाडौं ।

विश्वकै दुर्लभ अवस्थामा मानिएको हिमचितुवाको नयाँ तथ्यांक सार्वजनिक भएको छ । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालका अनुसार नेपालमा हिमचितुवाको संख्या ३९७ भएको पाइएको छ ।

गणना अनुसार नेपालको सात मूख्य क्षेत्रमा यसको बासोबास रहेको पाइएको छ ।

विश्वको कुल २ प्रतिशत हिमचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिमचितुवा भेटिएका आईयूसीएनले  जनाएको छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान छ ।

अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रस्ट’का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा तीन हजार २० देखि पाँच हजार ३९० को संख्यामा हिमचितुवा रहेको अनुमान छ ।

हिमचितुवा बढीजसो नेपाल, चीन, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मंगोलिया, रुस, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायतका १२ वटा मुलुकमा पाइन्छन् ।

नेपालसँगै भारत, मंगोलिया र भुटानले प्रविधि, अनुसन्धान र तथ्यांक विश्लेषण गरी हिमचितुवाको नयाँ र आधिकारिक तथ्यांक सार्वजनिक गर्दै आएका छन् । तथ्यांकअनुसार चीनमा कम्तीमा दुई हजारदेखि दुई हजार पाँच सय, मंगोलियामा ९५३, भारतमा ७१८, नेपालमा ३९७ र भुटानमा १३४ हिमचितुवा रहेको विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालका पर्वतीय कार्यक्रम प्रबन्धक सरिन श्रेष्ठले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू-संरक्षण विभागको नेतृत्वमा कोषलगायत संघसंस्थाको सहयोगमा विभिन्न तथ्यांक र अनुसन्धानको विश्लेषण र मूल्यांकन गरी यस्तो तथ्यांक निकालिएको उनले बताए ।

मूल्यांकनमा सन् २०१५ देखि २०२४ सम्म सरकार, संरक्षण संस्थाहरू र अनुसन्धानकर्ताद्वारा नेतृत्व गरिएका विभिन्न अध्ययनबाट तथ्यांक निकालिएको हिमचितुवा विज्ञ शशांक पौडेलले जानकारी दिए ।

यो तथ्यांक क्यामेरा ट्रयाप र दिशाको नमुनाहरूको आनुवंशिक विश्लेषणलगायत अत्याधुनिक प्रविधि प्रयोग गरी विभिन्न सात अध्ययन क्षेत्रहरूबाट हिमचितुवाको वितरण र जनसंख्या घनत्वको तथ्यांक प्रयोग गरिएको उनले बताए । यस मूल्यांकन उपलब्धिले हिमचितुवा र तिनीहरूको संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीको सुरक्षा गर्न मुलुकको प्रतिबद्धतालाई जोड दिन्छ ।

यो मूल्यांकन निकुञ्ज विभागका वरिष्ठ पारिस्थितिकीय विद्को नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्रामको ‘पपुलेसन एसेसमेन्ट अफ द वर्ल्डस् स्नो लियोपार्ड्स’ निर्देशिकाअनुसार सञ्चालन गरिएको थियो । कोषलगायत व्यक्तिगत अनुसन्धानकर्ता र संरक्षण संस्था सहभागी थिए ।

हिमचितुवाको बासस्थानमध्ये झन्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको र त्यस्तो बासस्थान खण्डीकरण हुँदै गएकाले यसमा चुनौती थपिएको छ ।  व्यक्तिले पासो थाप्ने, आहारमा विष मिसाउने, भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती छन् ।

हिमचितुवा सामान्यतया समुद्री सतहबाट ५४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छन् । हिमचितुवालाई आईयूसीएनले ‘रेड लिस्ट’ विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ । बिरालो प्रजातिको हिमचितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ । तथ्यांकअनुसार नेपालको पूर्वको तुलनामा पश्चिममा बढी संख्यामा हिमचितुवा छन् त्यसमध्ये डोल्पा क्षेत्रमा हिमचितुवाको संख्या ९० रहेको छ ।

Prev Post

दुई अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल र भारतबीच सम्झौता

Next Post

 एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत

post-bars

Leave a Comment