काठमाडौँ । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब चाँगुनारायण नगरपालिका आफैंले स्तरोन्नति गर्ने भएको छ। आउँदो वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष, २०८२ लाई लक्षित गर्दै नगरपालिकाले भक्तपुर–नगरकोट सडक आफैंले स्तरोन्नति गर्ने गरी बोलपत्र आह्वान गरेको छ।
एक्जिम बैंक इण्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरी २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण सम्झौता गरेका थिए ।
२७ करोडमा ठेक्का सम्झौता गरी ११ वर्षमा १०औं पटक म्याद थप गरेर लागत बढाउँदै ३१ करोड पुग्दा पनि सडक निर्माण हुन सकेको थिएन। काम नभएपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले उक्त सडकको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो।
भ्रमण वर्ष अगाडि सडकको काम नहुने अवस्था आएपछि नगरपालिकाकै आन्तरिक स्रोतबाट स्तरोन्नति गर्नेगरी बोलपत्र आह्वान गरेको नगर प्रमखु जीवन खत्रीले बताए । केन्द्रीय सरकारको यो सडक पुनः स्तरोन्नति गर्न यसवर्ष बजेट नभएको र प्रक्रियामा जाँदा प्रक्रिया पूरा गर्ने लामो समय लाग्ने भएपछि नगरपालिका आफैं सक्रिय भएको उनले बताए।
भक्तपुर-नगरकोट सडकका नगरपालिकातर्फका सवइञ्जिनयर सनिश वनमालाले ठेक्का सम्झौता गरी बैशाखदेखि सडकका स्तरोन्नति शुरू हुने बताए। भत्केकोपाटीदेखि नगरकोटसम्म १५ किलोमिटर लामो सडक कालोपत्रको काम सम्झौता लगत्तै तीव्र गतिमा अघि बढाइने उनले बताए।