एनपीएल अक्सनः उच्चतम मूल्य १५ लाख

काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको अक्सनबाट कुल ३७ क्रिकेटर अनुबन्ध भएका छन् । शनिबार भएको पहिलो चरणको अक्सनबाट एनपीएलमा सहभागी हुने आठ टोलीले उनीहरुलाई अनुबन्ध गरेको हो ।
दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । उनीहरुले जनही १५ लाख प्राप्त गर्नेछन् । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमान्डु गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ ।
यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किङ्ग्सले, सन्तोष यादवलाई काठमान्डु गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही १० लाखमा अनुबन्ध गरेको छ ।
यस्तै मयन यादवलाई जनकपुर वोल्टस्ले ७ लाख ५० हजारमा तथा आकाश त्रिपाठीलाई काठमान्डु गोर्खाजले ७ लाखमा अनुबन्ध गरेको छ । यसैगरी नारायण जोशी र साहिल पटेललाई विराटनगर किङ्ग्सले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेललाई लुम्बिनी लायन्सले तथा आदित्य महतालाई जनकपुर बोल्टसले जनही ५ लाखमा अनुबन्ध गरेको छ । काठामन्डु गोर्खाजले उत्तम थापामगरलाई ३ लाखमा अनुबन्ध गरेको छ ।
यसैगरी टेकबहादुर रावत र दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले, अभिषेक तिवारी र कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले, सचिन भट्टलाई जनकपुर बोल्ट्सले, तुलबहादुर थापालाई काठमान्डु गोर्खाजले तथा इमरान शेख र दीपक डुम्रेलाई कर्णाली याक्सले जनही दुई लाखमा अनुबन्ध गरेको छ ।
एनपिएलमा सहभागी आठ टिमले खेलाडी अक्सनबाट खेलाडीलाई आआफ्नो टिममा भित्र्याएका छन् । एनपिएलका आठै टिमले पहिलो संस्करणमा आआफ्नो टिमबाट खेल्ने पाँचदेखि छ खेलाडी रिटेन गरिसकेकाले यसपालिको अक्सन मिनी अक्सन बनेको थियो । यस पटक क्यानले क्याटगोरी ‘ए’ मा आठ खेलाडी, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी राखेका थिए ।
खेलाडी बोलकबोलमा ‘ए’ क्याटागोरीमा रहेका आठमध्ये चार जना देव खनाल, अर्जुन साउद, पवन सराफ र आदिल अलाम सर्वाधिक १५ लाख रुपियाँमा अनुबन्धित भयो । यस समूहमा ‘बेस प्राइस’ १० लाख रहेको थियो । यसैगरी ‘बी’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य पाँच र अधिकतम १० लाख तथा ‘सी’ ग्रेडका क्रिकेटका लागि न्यूनतम दुई र अधिकतम पाँच लाख रुपियाँसम्म बोली लगाउन पाउने प्रावधान थियो । अक्सनबाट कुल ३७ क्रिकेटर बिक्री भए ।
सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले पाँच/पाँच र पोखरा एभेन्जर्स, कर्णाली याक्स र च्याम्पियन जनकपुर बोल्ट्सले चार/चार खेलाडी आआफ्नो टिममा भित्र्याएर घरेलु क्रिकेटरको कोटा पूरा गरे । एनपिएलको नियम अनुसार सबै टिमलाई अधिकतम ९० लाख खर्च गर्ने अधिकार दिइएको थियो । जसमध्ये प्रायः टिमले आधाभन्दा बढी रकम खेलाडी रिटेनमै खर्च गरिसकेको थियो । विदेशी खेलाडीको हकमा भने बजेटको सीमा तोकिएको छैन । सबै टिममसक्ष अझै अधिकतम पाँच विदेशी खेलाडी टिममा भित्र्याउने अवसर छ ।
