दशैंका लागि छैन नयाँ नोट, सुकिला साटिने

काठमाडौ ।
यस वर्ष पनि दशैंमा नयाँ नोट नदिइने भएको छ । एकपटक बजारमा गएर बैंकिङ प्रणालीमा फर्किएका नोट पर्याप्त रहेकाले तीनै नोट पुनः प्रयोगमा ल्याउने राष्ट्र बैंकको तयारी छ । नयाँ नोट साट्ने गर्दा प्रयोगमा आएका सुकिला नोट बढ्दै बगएपछि केन्द्रीय बैंकले सुकिला नोट नै साट्ने व्यवस्था मिलाउने भएको हो ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै पाँच रुपैयाँ दरको नोट भने नयाँ नोट नै साट्न पाइने जनाएको छ । सुकिला नोट दशैंमा मात्रै नभएर अघिपछि गए पनि साट्न पाइन्छ ।
विगतमा दशैं तिहारमा साटेर एकपटक प्रयोगमा आई पुन बैंकहरुमा फर्किएको नोट पर्याप्त मात्रामा रहेकाले सुकिला नोट छुट्याइएको छ । अर्को सातासम्म राष्ट्र बैंकले सूचना निकालेर भदौ अन्तिममा वा असोज लागेसँगै नोट साट्ने व्यवस्था मिलाउने तयारी रहेको विभागका कार्यकारी निर्देशक रामु पौडेलले बताए ।
दशैंकै लागि भनेर प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ तोकेर नै नोट सटही गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले सूचना गरेको छ । राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ कार्यालयका साथै सातै प्रदेशका प्रादेशिक कार्यालय र वाणिज्य बैंकहरुबाट पनि सुकिला नोट साट्न पाउने व्यवस्था मिलाउने उनले बताए । बैंकहरुलाइ पनि सहज रुपमा नोट साट्न सक्नेगरी सुकिला नोट उपलब्ध गराउने भएकोले बैंकहरुबाट पनि सजिलै दशैंका लागि नोट पाइनेछ ।
