नेपालको अर्थतन्त्र सुध्रिँदैः आइएमएफ उपनिर्देशक
काठमाडौंः
सरकारका मन्त्री, राष्ट्रबैंक, तथा नेपाल उद्योग वाणिज्य महासंघजस्ता स्वदेशी निकायका अधिकारीहरुले नेपालको अर्थतन्त्र सुध्रिदै गएको बताइरहेका बेला अन्तरराष्ट्रिय मुद्रा कोषका अधिकारीले पनि यस्तै बताएका छन् ।
आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्त गुप्ताले यस्तो टिप्पणी गरेकी हुन् ।
अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताइन् । उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा राखिन् ।
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका थिए । छलफलमा विश्व वित्तीय परिवेश , नेपालको अर्थतन्त्र तथा आइएमएफ र नेपालबीचका सहकार्यका विषयबस्तुमा छलफल भएको थियो ।