प्राधिकरणले पाउने भयो सस्तोमा बिजुली
काठमाडौ:
नेपाल विद्युत् प्राधिकरणले ८ सय मेगावाटको सौर्य ऊर्जाको विद्युत् खरीद सम्झौता (पीपीए) का लागि गराएको प्रतिस्पर्धामा प्रतियुनिट ४ रुपैयाँ ९९ पैसादेखि ५ रूपैयाँ ५० पैसासम्म प्रस्ताव स्वीकृत गरेको छ ।
प्राधिकरणले प्रतिस्पर्धाको आधार दर प्रतियुनिट ५ रूपैयाँ ९४ तोकेको थियो भने प्रस्ताव ५ रुपैयाँ ९९ पैसा सम्म परेको थियो ।
गत साता प्राधिकरणले ८ सय मेगावाटको सौर्य ऊर्जाका लागि परेको २८० वटा प्रस्तावहरुलाई प्राविधिक रुपमा स्वीकृत गरेको थियो । प्राविधिक रुपमा सफल ती कम्पनीका आर्थिक प्रस्ताव मँगलबार खोलिएको हो ।
प्राधिकरणका उपकार्यकारी निर्देशक राजन ढकालका अनुसार प्राधिकरणमा कुल ३६ सय मेगावाट बराबरका २८० वटा प्रस्ताव परेका थिए । प्राधिकरणले करिव ८ सय मेगावाटका लागि स्थान निर्धारण सहित आवेदन माग गरेको थियो ।
प्राधिकरणमा परेको प्रस्ताव अनुसार यी आयोजना बनिसक्दा प्राधिकरणले सौर्य ऊर्जाको बिजुली औषत ५ रुपैयाँ ६० पैसामा प्राप्त गर्ने देखिएको छ ।
८ सय मेगावाटको सौर्य ऊर्जा प्लाण्ट जडानका लागि करिव ५० अर्ब रूपैयाँ निजी क्षेत्रले लगानी गर्नेछन् । सौर्य ऊर्जा आयोजनाका लागि प्राधिकरणले सबस्टेसन तथा लोड सेन्टरसँगको उपयुक्तताका आधारमा प्रस्ताव आह्वान गरेका कारण छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ ।
यी प्रतिस्पर्धामा उत्तीर्ण कम्पनीहरुले छोटो अवधिमै जडान गर्ने र आगामी वर्षको हिउँदयाममा भारतबाट आयात गरिने बिजुली उल्लेखनीय रूपमा घट्नेछ ।