एनसेल फाउन्डेसनको घोषणा, सामाजिक सेवामा २० करोडको योगदान गर्ने
काठमाडौं:
निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ ।
१९औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ । फाउन्डेसनले डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने जनाएको छ ।
“विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान गर्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरुमा २ अर्ब रुपैयाँ भन्दा बढिको योगदान गरेको छ । हाम्रा सबै राम्रा कार्यलाई एउटै उदेश्य र छातामुनि ल्याउन एनसेल फाउन्डेसनको स्थापना गरेका हौं,” वार्षिकोत्सव कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
२०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको छ । साथै आफ्ना परिवारजन तथा आफ्न्तहरुसँग सम्पर्कमा रहि रहन कम्पनीले ग्राहकहरुलाई रु १ अर्ब ६० करोड बराबरको सेवा सुविधाहरु निःशुल्क उपलब्ध गराएको जनाएको छ ।
कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा रु १० करोड योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो । गत वर्षको जाजरकोट भुकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई रु ५० लाख सहयोग उपलब्ध गराएको थियो र भुकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरुलाई कक्षा कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो ।
त्यसैगरी २०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरुको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको थियो । १९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेल फाउन्डेसनले आगामी ५ वर्षमा कम्पनीले कम्तिमा २० करोड रुपैयाँ सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।
“एनसेलले टावरहरू राख्ने, मानिसहरुलाई दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र गर्दैन । सीएसआरमा दिगो, प्रभावकारी र ‘हामी तपाईंकै लागि’ थिम अनुसार काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रुपमा स्थापित हुने लक्ष्य सहित अगाडि बढेको कम्पनी पनि हो एनसेल,” जाब्बोरले भने ।
सोही कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ ।