नाइमा नेपाल मोबिलिटी एक्स्पोको बुकिङ खुला

काठमाडौं ।
नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २१ देखि २५ गतेसम्म हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को बुकिङ खुलाएको छ ।
नाइमाले यही वैशाख २२ देखि औपचारिक रूपमा स्टल बुकिङ खुला गराएको हो । इच्छुक व्यक्ति र कम्पनीहरूले आफूले चाहेको स्टल लिनका लागि वैशाख २९ गतेसम्म आवेदन दिन सक्ने नाइमाले जनाएको छ ।
नाइमाका अनुसार काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मोबिलिटी एक्स्पोका लागि स्टलको बाँडफाँट गोलप्रथाबाट गरिने छ । मोबिलिटी एक्स्पोमा दुईपाँग्रे, चारपाँग्रे तथा हलुका व्यावसायिक सवारी साधनहरु एउटै हलमा प्रदर्शन गरिने छ ।
उक्त प्रदर्शनीले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैमा ऊर्जा प्रदान गर्ने नाइमाको विश्वास छ ।
मोबिलिटी एक्स्पोमा विभिन्न ब्राण्डका दुईपाँग्रे, चारपाँग्रे, कमशिर्यल सवारीसाधन, अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।
यस प्रदर्शनीको व्यवस्थापन र संयोजन प्रदर्शनी व्यवस्थापन र आयोजनाको क्षेत्रमा एक अग्रणी संस्था मिडिया स्पेस सोलुसन्स प्रा. लि. द्वारा गरिनेछ । ‘नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ,’ नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भनिन् ।
‘प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं,’ उनले थपिन् ।
