काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको छ ।
सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार नै संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको हो । उनी जनजाति कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् । राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् ।
राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।