मनकामना केबलकार फेरि बन्द हुने
काठमाडौंः
मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिनसम्म पुनः बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको मनकामना केबल कार प्रालिले जनाएको छ ।
डिजिटल प्रविधिमा रुपान्तरण गर्ने र लठ्ठा समेत फेर्ने गरी मनकामना केबल कार २ महिना बन्द गरी यही आसोज १ देखि सञ्चालनमा ल्याइएको थियो ।
यहि प्रक्रिया अन्तरतगकै केहि काम बाँकी रहेकाले त्यो सम्पन्न गर्न अहिले केबलकार बन्द गर्न लागिएको हो । दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो ।
आज द्वादशीको एक दिन भने केबलकार चलाइएको छ । दशैंको टीका लगाउन गएकाहरुलाई आउ–जाउ गर्न सहज होस् भनेर आज एक दिन खुला गरिएको र भोलिदेखि तीन दिन बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।
दुई दिन मर्मत गर्ने र एक दिन विश्राम पश्चात कात्तिक २ गतेदेखि सेवा सुरु गर्ने तयारी छ ।