Back To Top

December 22, 2024

एलपीआरको लागि पुनः प्रक्रिया सुरु

Global Ime Bank

काठमाडौं
नेपालमा सञ्चालनमा रहेका १० वटा ठूला वाणिज्य बैंकको अन्तराष्ट्रिय लेखापरीक्षकबाट लेखापरीक्षण गराउने प्रक्रिया फेरि अघि बढेको छ ।bलेखापरीक्षण गराउने यस अघिको प्रयास असफल भए पनि नेपाल राष्ट्र बैंकले फेरि नयाँ प्रक्रिया सुरु गरेको हो ।

राष्ट्र बैंकले एक सूचनामार्फत इच्छुक विदेशी लेखापरीक्षकलाई नेपालका वाणिज्य बैंकहरूको व्यापक सम्पत्ति गुणस्तर समीक्षा (लोन पोर्टफोलियो रिभ्यु–एलपीआर) का लागि आशयपत्र बुझाउन आब्हान गरेको छ । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को शर्त बमोजिम धेरै कर्जा प्रवाह गरेका १० ठूला बैंकहरुको विदेशी अडिटरबाट लेखापरीक्षण गर्न लागिएको हो ।

आइएमइफसँग विस्तारित कर्जा सुविधा लिने क्रममा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले १० ठूला बैंकको अन्तराष्ट्रिय अडिटरबाट लेखापरीक्षण गराउने प्रतिबद्धता जनाएका थिए । आईएमएफले विस्तारित कर्जा सुविधा (इसीएफ) अन्तरगत ३९५ मिलियन डलर प्रदान गर्नका लागि मार्च २०२३ मा उक्त शर्त राखेको थियो ।

यसअघि १० ठूला बैंकको लेखापरीक्षण गर्न छनोट भएको भारतीय कम्पनी केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिको प्रस्ताव अस्वीकृत भएसँगै लेखापरीक्षण कार्य रद्द भएको थियो । त्यस बेला मागिएको आशयपत्र अनुसार पाँच कम्पनी सर्टलिस्टमा परी प्राविधिक प्रस्ताव माग भएको थियो । ती मध्ये भारतको केपीएमजी योग्य देखिए पनि उसको आर्थिक प्रस्ताव अस्वीकृत भएपछि राष्ट्र बैंकले सो प्रक्रिया रद्द गरेको थियो ।

आइएमएफसँग गरेको प्रतिबद्धता अनुसार राष्ट्र बैंकले तेस्रो पक्षमार्फत बढी कर्जा प्रवाह गर्ने नेपालका शीर्ष १० वाणिज्य बैंकको लोन पोर्टफोलियो समिक्षा गराउनmे छ । राष्ट्र बैंकले इच्छुक योग्य परामर्शदातासँग यही पुस २२ गतेभित्र आशयपत्र माग गरेको छ । बाह्य मूल्याङ्कनकर्ता छनौट गर्दा व्यक्ति वा संस्थाको योग्यतालाई ५० अंक, अनभुवलाई ४० अंक तथा क्षमतामा १० अंकसम्म प्रदान गरिने सूचनामा उल्लेख छ । दोस्रो चरणमा छनोट हुनका लागि कम्तिमा ६० अंक प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।
आईएमएफले नेपालका बैंकहरुको खराब कर्जा वास्तविक नभएको, धितो मूल्याङ्कनसम्बन्धी विधि प्रभावकारी नभएको, वित्तीय अनुशासन नभएको लगायतका बिषयहरु उठाएर विदेशी अडिटरबाट लेखापरीक्षण गर्न आग्रह गरेको थियो ।
नेपालको अर्थतन्त्रको अवस्था र आइएमएफले सहयोग गरेको विस्तारित कर्जा सुविधा (इसीएफ) को कार्यान्वयनका बारे छलफल गर्न सेप्टेम्बर ११ देखि २२ सम्म नेपालमा बसेको आइएमएफको टोलीले नेपालका १० वटा ठूला बैंकको ऋण पोर्टफोलियो समीक्षा तत्काल गर्नुपर्ने कुरामा जोड दिएको थियो ।

 

Prev Post

१३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात

Next Post

एनपीएलमा ऐरीलाई ओमोडा इभी, अरु कसलाई के?

post-bars

Leave a Comment