हिन्दकुश-हिमालयमा २३ वर्षकै न्यून हिममात

काठमाडौं ।
वैज्ञानिकहरूले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा चेतावनी दिएका छन् कि एसियाको हिन्दुकुश—हिमालय पर्वत शृङ्खलामा हिउँपात २३ वर्षमा सबैभन्दा कम भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनले ूहिन्दुकुश—हिमालय क्षेत्रमा मौसमी हिउको मात्रमा ठूलो गिरावट आएको छ ।
यसपटक हिउँ जमिनमा रहने अवधि (स्नो पर्सिस्टेन्स) सामान्यभन्दा २३.६ प्रतिशतले कमी आएको छ जुन २३ वर्षकै सवैभन्दा न्यून हो ।
यसले यी हिमश्रिङखलाबाट पग्लने पानीमा आश्रित करीब २ अर्ब जनताको जीवनमा संकट उत्पन्न गरेको प्रतिवेदनमा औल्याइएको छ ।अफगानिस्तानदेखि म्यानमारसम्म फैलिएको यो हिमालयी क्षेत्र आर्कटिक र अन्टार्कटिका पछि विश्वको सबैभन्दा ठूलो बरफ र हिउँको भण्डार हो। यस क्षेत्रबाट निस्कने पानीले करीब २ अर्ब मानिसहरूको पानीको आवश्यकता परिपुरण गर्ने गरेको छ ।
इसिमोडको स्नो अपडेट प्रतिवेदन मा भनिएको छ, “तीन वर्षदेखि देखिएको यस्तो प्रवृति र त्यसको निरन्तरताले करिव २ अर्ब जनताको जलसुरक्षालाई खतरामा पारेको छ । ”
अध्ययनले नदीहरुमा जलप्रवाह घट्दै जाँदा जमिनमुनीको पानीमा निर्भरता बढ्दै गएको र यसले खडेरीलाई अझै बढाउँदै लैजाने चेतावनी दिएको छ ।
प्रतिवेदनका प्रमुख लेखक शेर मोहम्मदका अनुसार गएको जनवरीमा हिमपात ढिलो सुरु भएको थियो भने हिउँदभर हिउँपात औसतभन्दा धेरै कम भएको थियो ।
हिन्दकुश र हिमालय क्षेत्रका आश्रित मुलुकहरुले विगतदेखि जलवायु परिवर्तनको चपेटाले आफूहरु बढी प्रभावित हुनु परेको दुखेसो विश्व समुदायमा पोख्दै आएका छन् । धेरै देशहरूले यस अघि नै लामो खडेरी र मरुभूमिकरणको खतरा औल्याउँदै आएका पनि छन् । जलवायु परिवर्तनको असरका कारण लामो गर्मी र बारम्बार आउने हिटवेभले प्रभावित हुँदै आएका यी क्षेत्रका जनताले अव कृषि उत्पादन र पानीको पहुँचमै खतरा भोग्नु पर्ने अवस्था बन्दै आएको छ ।
अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान सदस्य भएको अन्तरसरकारी संस्था आइसीआइएमओडीले यस क्षेत्रका १२ प्रमुख नदी घाँटीमा निर्भर देशहरूलाई उन्नत जल प्रबन्ध, सुख्खा प्रतिरोधी क्षमता विकास, राम्रो प्रारम्भिक चेतावनी प्रणाली र क्षेत्रिय सहयोग विस्तारका लागि आह्वान गर्दै आएको पनि छ ।
चीन र म्यानमारलाई पानी आपूर्ति गर्ने दक्षिणपूर्व एसियाका दुई लामा नदीहरू – मेकोंग र सालिवन घाँटी – मा करीब आधा नै हिउँ कम भएको प्रतिवेदनमा औल्याइएको छ । इसिमोडका महानिर्देशक पेमा ग्याम्छोका अनुसार कार्बन उत्सर्जनले हिन्दुकुश—हिमालय (एचकेएच) क्षेत्रमा बारम्बार हुने हिउँ अनियमितताको प्रक्रिया अपरिवर्तनीय बनाइसकेको छ ।
(एजेन्सीको सहयोगमा)
