चितवन ।
नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझ ६ः०० बजेदेखि पहिरो निरन्तर खसेको छ ।
डिभिजन सडक कार्यालय चितवनका अनुसार तुईन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्द भएको थियोे । करिब ७० मिटर माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको र आज बिहान समेत मा पुनः ठुलो पहिरो खसेर करिब १६० मिटर लम्बाई , १० चौडाई र १६ मिटर उचाइमा पहिरो रहेको अवस्था छ । ढुंगा खस्ने क्रम निरन्तर भईरहेको हुँदा पहिरो हटाउनको लागि समस्या भएका जनाइएकोे छ । हाल ३ वटा लोडर र एउटा एक्सक्याभेटर परिचालन गरि दुवै तर्फबाट पहिरो हटाउने कार्य सुचारू भईरहेको कार्यालयले जनाएको छ ।
थप पहिरो खस्ने क्रम रोकिएको खण्डमा कम्तिमा ४ घण्टामा पहिरो हटाई सवारी आवागमन सुचारू गर्ने संभावना रहेको जनाइएको छ। कार्यालय प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरो रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए । पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ ।
शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो । साँझ ६ः०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।