अधिकांश बैङ्ककेा घट्येा ब्याजदर

काठमाडौं ।
साउन महिनाका लागि बैंकहरूले ब्याजदर घटाएका छन् । जेठ र असारमा स्थिरजस्तै रहेको ब्याजदर राष्ट्र बैंकको मौद्रिक नीतिपछि घट्न थालेको हो।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा नीतिगत दर पाँच प्रतिशतबाट घटाएर चार दशमलव पाँच प्रतिशत, स्थायी तरलता सुविधा दर छ दशमलव पाँचबाट घटाएर छ प्रतिशत र स्थायी निक्षेप सुविधा दर तीन प्रतिशतबाट घटाएर दुई दशमलव पच्हत्तर प्रतिशतमा झारेपछि बैंकहरूमा ब्याजदर घटाउने दबाब परेको हो।
बैंकहरूले बुधबार सार्वजनिक गरेको ब्याजदर तालिकाअनुसार असारको तुलनामा साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर शून्य दशमलव दुई एक पाँच प्रतिशत विन्दुले घटेर पाँच दशमलव छ आठ सात प्रतिशतमा झरेको छ, जुन असारमा पाँच दशमलव नौ शून्य दुई प्रतिशत थियो।
असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ बैंकले स्थिर राखेका छन्। दुई बैंकले भने ब्याजदर बढाएका छन् । जसमा हिमालयन बैंकले शून्य दशमलव पाँच प्रतिशत विन्दुले र स्टान्डर्ड चार्टर्डले शून्य दशमलव शून्य एक प्रतिशत विन्दुले वृद्धि गरेका छन्।
कर्जा प्रवाह अपेक्षाअनुसार नभएपछि बैंकहरूले राखेको ठूलो मात्रामा तरलता नेपाल राष्ट्र बैंकमै थन्किएको छ। चालु आर्थिक वर्षको अन्तिमसम्म केन्द्रीय बैंकले वित्तीय प्रणालीको छ खर्ब बानब्बे अर्ब पैँसठ्ठी करोड रुपैयाँ बराबरको तरलता संकलन गरेको छ। तीमध्ये तीन खर्ब सत्तत्तर अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत र बाँकी तीन खर्ब पन्ध्र अर्ब स्थायी निक्षेप सुविधा प्रयोग गरेर संकलन गरिएको हो। यो रकम अघिल्लो आर्थिक वर्षको अन्त्यमा संकलन गरिएको तीन खर्ब पचपन्न अर्ब रुपैयाँभन्दा दोब्बर बढी हो।
हेर्नुस कुन बैंकको कति ब्याजदर :
बैंक | असारको ब्याजदर (प्रतिशतमा) | साउनको ब्याजदर (प्रतिशतमा) |
स्टान्डर्ड चार्टर्ड | ६.२५ | ६.२६ |
एनआईसी एसिया | ६.५५ | ६.२५ |
एभरेस्ट | ६.५५ | ६.२५ |
सानिमा | ६.३३ | ६.१८ |
माछापुच्छ्रे | ६.०० | ६.०० |
ग्लोबल आईएमइ | ६.०० | ६.०० |
प्राइम कमर्सियल | ६.२५ | ६.०० |
हिमालयन | ५.५० | ६.०० |
एनएमबी | ६.०० | ६.०० |
सिद्धार्थ | ५.७५ | ५.७५ |
सिटिजन्स | ५.६५ | ५.५० |
नबिल | ५.७५ | ५.५० |
राष्ट्रिय वाणिज्य | ६.०० | ५.५० |
लक्ष्मी सनराइज | ५.७५ | ५.५० |
कुमारी | ५.७१ | ५.४१ |
नेपाल | ५.४५ | ५.४० |
कृषि विकास | ५.४५ | ५.४० |
नेपाल एसबीआई | ५.५० | ५.३५ |
इन्भेस्टमेन्ट मेगा | ५.५० | ५.२५ |
प्रभु | ६.१० | ४.२५ |
