भारतका विद्युतमन्त्री नेपाल आउने

काठमाडौँ, ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन ।
वैशाख ९ गते मङ्गलबार विहान दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन ।
उर्जामन्त्री खड्कासँगै भारतका विद्युतमन्त्री खट्टरले वैशाख ९ गते दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाईनअन्तर्गत ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, २२०/३३ केभी बानेश्वर सवस्टेशन र २२०/१३३/३३ केभी बसन्तपुर सवस्टेशनको संयुक्त रुपमा संखुवासभाको तुम्लिङटार सवस्टेशनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उहाँले सोहीदिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नुहुनेछ । सोही दिन दुई देशले संयुक्त रुपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
बैशाख १० गते भारतका विद्युतमन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । सोहीदिन उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । विद्युतमन्त्री खट्टरले सोहीदिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।