आइक्यानद्वारा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन पुरस्कृत

काठमाडौ ।
नेपाल चार्टरर्ड एकाउन्टेन्स संस्था(आइक्यान)ले उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन तयार गर्ने विभिन्न क्षेत्रका कम्पनीलाई राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन (बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट –बीपीए) अवार्ड, २०२४ बाट सम्मानित गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न आइक्यानको दशौ परिषदका अध्यक्ष तथा उपाध्यक्षको सपथ ग्रहण तथा अवार्ड वितरण कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो ।
निजी क्षेत्रको बैंकमा नबिल बैंक उत्कृष्ट
राष्ट्रिय उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन (बीपीए)अवार्ड, २०२४तर्फ निजी क्षेत्रका बैंकहरूमा नबिल बैंकले गोल्ड अवार्ड प्राप्त गरेको छ । सिद्धार्थ बैंकले सिल्भर र नेपाल एसबिआई बैंकले ब्रोन्ज अवार्ड प्राप्त गरे । एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरे । सार्वजनिक क्षेत्रका बैंकिङ संस्थाहरूमध्ये कृषि विकास बैंकले सिल्भर अवार्ड जितेको छ ।
वित्तीय सेवा क्षेत्रमा कामना सेवा विकास बैंक उत्कृष्ट
वित्तीय सेवा क्षेत्रमा कामना सेवा विकास बैंकले गोल्ड, महालक्ष्मी विकास बैंकले सिल्भर र मुक्तिनाथ विकास बैंकले ब्रोन्ज अवार्ड प्राप्त गरे । प्रभु क्यापिटल लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सर्टिफिकेट अफ मेरिट पाए ।
बीमातर्फ नेपाल इन्स्योरेन्स उत्कृष्ट
गैर–जीवन बीमातर्फ नेपाल इन्स्योरेन्स कम्पनीले गोल्ड, शिखर इन्स्योरेन्स कम्पनीले ब्रोन्ज र हिमालयन एभरेष्ट इन्स्योरेन्स तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सर्टिफिकेट अफ मेरिट हासिल गरे ।
जीवनबीमा क्षेत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सिल्भर र आईएमई लाइफ ईन्स्युरेन्स कम्पनीले सर्टिफिकेट अफ मेरिट प्राप्त गरे ।
उत्पादन क्षेत्रमा युनिलिभर नेपालले जित्यो गोल्ड अवार्ड
उत्पादन क्षेत्रमा युनिलिभर नेपालले गोल्ड, बोटलर्स नेपाल (तराई) र हिमालयन डिस्टिलरीले जोइन्ट ब्रोन्ज तथा बोटलर्स नेपालले सर्टिफिकेट अफ मेरिट प्राप्त गरे । ऊर्जा क्षेत्रमा बुटवल पावरले सर्टिफिकेट अफ मेरिट पायो भने सेवा क्षेत्रमा ओरिएन्टल होटलले ब्रोन्ज अवार्ड जित्यो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले प्रत्येक वर्ष राष्ट्रिय उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन अवार्डका लागि प्रतिस्पर्धा आयोजना गर्दै आएको छ । पुरष्कृत कम्पनीका प्रतिनिधिलाई प्रमुख अतिथि महालेखा परिक्षक तोयम रायाले अवार्ड प्रदान गरे ।
आईक्यानले राम्रो वित्तीय प्रतिवेदन र सान्दर्भिक जानकारीको खुलासालाई प्रोत्साहन गर्ने तथा नेपालमा वित्तीय प्रतिवेदनको उच्च मापदण्ड कायम गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्दै आएको छ । राष्ट्रिय उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन अवार्डका विजेताहरू दक्षिण एशियाली लेखा व्यवसायी महासंघद्वारा आयोजित साफा स्तरीय उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन अवार्डमा भाग लिन सिफारिस हुने आइक्यानले जनाएको छ ।
पद तथा गोपनीयताको सपथ
नेपाल चार्टर एकाउन्टेन्स संस्थाको दशौं परिषद्को दोश्रो कार्यकालका लागि सिए निलबहादुर सारु मगर र उपाध्यक्षमा सिए उपाध्यक्षमा सीए.आनन्दराज शर्मा वाग्ले निर्वाचित भएका छन् । असार ३२ गते सम्पन्न साधारण सभावाट निर्वाचित अध्यक्ष तथा उपाध्यक्षले शुक्रबार पद तथा गोपनियताको सपथ लिए । अध्यक्ष मगरले प्रमुख अतिथि महालेखा परीक्षक तोयम रायाबाट तथा उपाध्यक्ष शर्माले नवनियुक्त अध्यक्ष मगरबाट पद तथा गोपनियताको सपथ लिए ।
कार्यक्रमका प्रमुख अतिथि महालेखा परिक्षक तोयम रायाले पुरस्कृत संस्थालाई बधाइ ज्ञापन गर्दै लेखा परिक्षण व्यवसायलाई अझै परिस्कृत बनाइदै लगिने बताए । उनले विश्वमा वित्तीय परिक्षणमा विभिन्न नयाँ आयाम आएको र त्यसलाई नेपालमा पनि अनुकरण गर्न गराउन अत्यावश्यक रहेको औल्याए । ’कम्प्लायन्स अडिट, प्रफर्मेन्स अडिट, आईटी अडिट जस्ता कुरा आएका छन्, उनले भने, अडिटरबाट धेरै कुराको जवाफ माग्न थालिएको छ, यस्ता विषयमा हामी प्रस्ट हुनुपर्छ । ’
उनले कानुनको परिपालना पनि संवेदनशील रहेको भन्दै अडिटरले कानुन ऐन संविधान कार्यविधि सवै अध्ययन गर्नुपर्ने अवस्था आएको औल्याए । उनले नेपाल सरकारको विभिन्न संरचनामा करिव १ सय जना चार्टर एकाउन्टेन्ट नियुक्त गर्ने प्रबन्ध भइरहेको जानकारी गराए । तर विगतमा दोब्बर तलब दिँदा पनि सरकारी सेवामा नटिकेको प्रसंग औल्याए ।
कार्यक्रममा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले नेपालमा व्यवसायिक वातावरण निर्माण गर्न विद्यमान व्यवधान पहिचान गरी सुझाव दिन आग्रह गरे ।
उनले कम्पनी दर्ता तथा अनुमतिपत्र लिने देखि निजी क्षेत्रले भोग्ने वित्तीय लेखापरिक्षण लगायत सम्बन्धित समस्या निराकरणका लागि आईक्यानले भूमिका खेल्न सक्ने औल्याए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सिए. प्रवीणकुमार झाले नवनियुक्त पदाधिकारीलाई शुभकामना दिँदै आफ्ना कार्यकालका प्रगति विवरण पेश गरे । उनले पञ्च वर्षीय चौथो रणनीतिक योजना बनाइएको जानकारी गराए । यो वर्ष संस्थामा २०८ जना सिए थपिको जानकारी उनले गराए ।
उनले सिएका विद्यार्थीहरुलाई विश्वकै प्रतिस्पर्धी बनाउन आधारभूत तहमा नयाँ पाठ्यक्रम निर्धारण गरिएको बताए । यसले नेपाली लेखा परीक्षकहरु अझै गुणस्तरीय बन्ने उल्लेख गरे । सदस्यलाई सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद सम्बन्धी नयाँ कोर्ष पनि बनाउन लागिएको पनि उनले जानकारी गराए । नेपाल एफएटीएफको ग्रे लिस्टमा परेको सन्दर्भमा लेखापरिक्षकलाई अझै चुस्त र जिम्मेवार बनाउने प्रयास गरिएको जानकारी उनले गराए ।
नवनिर्वाचित अध्यक्ष निलबहादुर सारु मगरले आगामी कार्यकालमा लेखा परीक्षण व्यवसायलाई उत्कृष्ट बनाउन अगिल्लो परिषद्ले सुरु गरेका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गराउने प्रतिवद्धता जनाए । बजारमा मध्यमस्तरका लेखा परीक्षकको अभाव रहेको भन्दै यसको अभाव पुरा गर्न प्रयास गर्ने प्रतिवद्धता उनले जनाए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान) नेपालमा लेखा व्यवसायको विकास, संरक्षण, संवद्र्घन तथा नियमन गर्नका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापित नियमनकारी निकाय हो । सोही ऐनको व्यवस्था बमोजिम सन् १९९९ देखि संस्थाले चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदान गर्दै आएको छ ।
