सडकमा आइपुग्यो नेपाली जेन-जी

काठमाडौं ।
‘जेन–जी’ पुस्ता माइतीघर मण्डलामा जम्मा हुने क्रम जारी छ । सामाजिक सञ्जाल फिर्ता,भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा देशभरका सडकमा उत्रिँदैछन् । भ्रष्टाचार नियन्त्रण लगायत विभिन्न एजेन्डासहित बिद्यार्थीहरु बिहानैदेखि राजधानीकेा माइतीघर बुटवल, पेाखरालगायत स्थानमा सडकमा उत्रिएका छन्।
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन् ।
माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेकाहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि प्रधानमन्त्री ओलीको फोटो च्यातेका हुन् । पोलमा राखिएको फोटो तल झारेर उनीहरुले च्यातेका छन् ।
नयाँबानेश्वरमा प्रहरीले सडकमा ब्यारिकेड राखेर प्रदर्शनकारीलाई रोकेको छ ।
सरकारले सामाजिक सन्जाल बन्द गराएको विरोध गराएको जेनजीले दाङको घोराहीमा पनि प्रदर्शन गरेका छन् ।
राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका युवाहरुले ‘सामाजिक सन्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’ लेखिएको ब्यानर बोकेका छन् ।
उनीहरुले भ्रष्टाचार र अव्यवस्था विरुद्ध लेखिएका विभिन्न प्लेकार्ड समेत बोकेका छन् ।
प्रदर्शनमा सहभागीहरुले बजार परिक्रमा गरेका छन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
