बिमा रकम लिन आफैंले पसलमा आगजनी

काठमाडौं ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८, न्युरोडस्थित शर्मा आइटी हबमा भएको आगलागीमा संलग्न रहेको आरोपमा प्रहरीले जनालाई प्रहरीले पक्राउ गरेको छ। पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले सञ्चालक लोहारले पसलको एक करोड बराबरको बीमा गराएको र बिमा रकम लिन आफैंले पसलमा आगजनी गरेको पाइएको जानकारी दिए ।
आइटी हबका फागुन १६ गते साँझ ७ बजे आगो लागेको थियो। आगलागी करिब ४५ मिनेटमा नियन्त्रणमा आएको थियो। लोहारले शिखर इन्स्योरेन्स कम्पनी बिमा गराएकाले क्षतिपूर्तिका लागि दाबी गरेका थिए ।
अनुसन्धानका क्रममा पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेकाले सन्देह लागेर अनुसन्धान गर्दै जाँदा यस्तो रहस्य खुलेको हो।
लोहारमाथि जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप भएको छ। लोहारमाथि आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।