Back To Top

October 18, 2024

उद्योगीले पाएनन् निर्यातको नगद अनुदान

Global Ime Bank

काठमाडौँ ।
सरकारले मूल्य अभिवृद्धि गर्ने निर्यातमूलक उद्योगका लागि अनुदानको घोषणा गरेको दुई वर्ष पूरा हुँदा पनि उद्योगीले त्यस्तो अनुदान पाउन सकेका छैनन् ।

बढ्दो व्यापार घाटा कम गर्ने, निर्यात बढाउने र विदेशी मुद्रा भित्र्याउने उद्देश्यले निर्यातमूलक उद्योगलाई प्रवर्धन गर्न भन्दै सरकारले २०७९ असोजमा निर्यातमा नगद अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि संशोधन गर्दै आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराउने व्यवस्था गरेको थियो ।

तर त्यो व्यवस्थाअनुसार रकम उपलब्ध गराउन सरकारी संरचना तयार नहुँदा कार्यान्वयन नगर्दा उद्यमी भने निरास बनेका छन् । निर्यात उद्यमीका अनुसार सरकारले करिव २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उद्यमीले अनुदानको आशामा निर्यात पनि बढाए । उत्पादन पनि बढाए तर अनुदान दिन्छु भनेको सरकारले फाइल घुमाइदिनेमात्रै काम गरिरहेको दुखेसो निर्यातकर्ता उद्यमीको छ ।

त्यसबारे ध्यानाकर्षण गराउन नेपाल निर्यात परिषद्को अगुवाइमा नेपाल सिमेन्ट उत्पादक सङ्घलगायत गलैँचा, फेल्ट, प्लाइउड, पस्मिनालगायत निर्यातजन्य उद्योगका प्रतिनिधिहरूले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन् ।
कार्यविधि अनुसार विभिन्न निर्यातमा एक प्रतिशतदेखि आठ प्रतिशतसम्म सरकारले अनुदान उपलब्ध गराउनुपर्ने हुन्छ । वार्षिक ५० करोड रुपैयाँ भन्दा बढीको निर्यात गर्ने धागो, सिमेन्ट, क्लिङ्कर, स्टिल, गलैँचा, नुडल्स, फुटवेयर, प्रशोधित पानी, सूचना प्रविधि, बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता उद्योगका लागि आठ प्रतिशत अनुदान दिने व्यवस्था छ ।

सरकारले निर्यात प्रोत्साहनका लागि अनुदान घोषणा गरेपछि निजी क्षेत्रले उत्साहित भएर लगानी बढाउँदै लगेको तर अहिले सो कुरा कार्यान्वयन नहुँदा सम्बन्धित उद्योगीहरू निराश भएको भन्दै परिषद्का अध्यक्ष पवन गोल्यानले बताए । “गत वर्ष नै निवेदन दिएका उद्योगहरूको फाइल अहिलेसम्म अघि बढाइएको छैन,” भेटमा उद्यमी गोल्यनले भने, “भन्सार विभागदेखि उद्योग विभाग, नेपाल राष्ट्र बैङ्क, उद्योग मन्त्रालय, अर्थ मन्त्रालयसम्मको चक्कर काटिरहेका छौ तर रकम दिइएन ।”

अनुदानसम्बन्धी व्यवस्थाको अनुगमन गर्न भन्दै वाणिज्य तथा आपूर्ति सचिवको संयोजकत्वमा समितिसमेत रहने व्यवस्था कार्यविधिमा गरिएको तर यो व्यवस्था पनि कार्यान्वयन नभएको गुनासो उनीहरूको थियो ।

निर्यात अनुदान सुविधा लिन कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गरिएको हुनै पर्छ । सरकारले बजेटमार्फत आठ प्रतिशतसम्म निर्यात अनुदान दिने घोषणा गरेपछि उद्योगीहरूले उत्साहित हुँदै सिमेन्ट र डन्डी निर्यात सुरु गरिसकेका छन । फुटवेयर भने पहिल्यैदेखि निर्यात हुँदै आएको थियो ।

छलफलमा मन्त्री पौडेलले निर्यातको नगद अनुदानमा देखिएका समस्या समाधान गर्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता भने जनाएका छन् ।

Prev Post

संकटग्रस्त स्थानीय तहलाई संघीय सरकारको राहत

Next Post

ऊर्जा ऋणपत्र ल्याउँदै निफ्रा

post-bars

Leave a Comment