चार जलविद्युत् बनाउन इनर्जी बण्ड जारी हुने

काठमाडौँ । मन्त्रिपरिष्दले अनुमति दिएसंगै नेपाल विद्युत् प्राधिकरणले आफ्ना चार जलविद्युत् आयोजना निर्माणका लागि ऊर्जा ऋणपत्र जारी गर्ने भएको छ ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले आवश्यकता अनुसार क्रमिक रूपमा २० अर्ब रुपियाँसम्म ऋणपत्र जारी गर्न अनुमति दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ जलविद्युत् आयोजना निर्माणमा वित्तीय स्रोत जुटाउन ऊर्जा बन्ड जारी गर्ने अनुमतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।
सोही प्रस्ताव अनुसार मन्त्रालयले बन्ड जारीको स्वीकृति दिन मन्त्रीपरिषदमा प्रस्ताव पेस गरेको ऊर्जा सचिव चिरञ्जीवी चटौतले बताए । उनले लागत प्रभावी र आवश्यक आयोजनामा प्राधिकरणले यो उपकरणमार्फत रकम प्राप्त गर्न सक्ने भएको जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको अप्पर अरुण, तामाकोशी पाँचौँ, मोदी र चैनपुर सेती जलविद्युत् आयोजना निर्माणका लागि ऋणपत्र जारी गर्नेछ ।
एक हजार ६३.३६ मेगावाट क्षमताको अर्धजलाशययुक्त अप्पर अरुण जलविद्युत् आयोजना सङ्खुवासभाको भोटखोला गाउँपालिका क्षेत्रमा निर्माण गर्न पहुँच मार्ग तथा अन्य पूर्वाधार निर्माण भइरहेको छ । दोलखाको बिगु र गौरीशङ्कर क्षेत्रमा निर्माण प्रस्ताव गरिएको ९९.८ मेगावाटको तामाकोशी पाँचौँ आयोजना प्राधिकरणकै सहायक कम्पनी तामाकोशी जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको आयोजना हो ।
१४ मेगावाटको मोदीखोला जलविद्युत् आयोजना पर्वतमा प्रस्तावित छ । सुदूरपश्चिमको रूपान्तरणकारी आयोजनाका रूपमा बझाङमा बन्न लागेको चैनपुर सेती जलविद्युत् आयोजना २१० मेगावाट क्षमताको छ । यो आयोजनाको पनि अडिट टनेल, पहुँच मार्गलगायतको पूर्वाधार निर्माण भइरहेको छ ।
