Back To Top

October 18, 2024

विपतको असर: विद्युत् निर्यात एकतिहाइ मात्रै

Global Ime Bank

काठमाडौ:
गत असोजमा आएको वर्षा र बाढीका कारण क्षतिग्रस्त कतिपय जलविद्युत् आयोजना पुनः सञ्चालन हुन नसक्दा नेपालको निर्यात व्यापार नराम्रो संग प्रभावित भएको छ ।

भारतमा अल्पकालीन तथा मध्यकालीन संझौतामार्पत करिव १ हजार मेगावाट विद्युत् निर्यात गर्ने अनुमति पाएर गत वर्ष भन्दा डेढ गुना विद्युत् निर्यात गर्ने आँकलन गरेकोमा नेपाल विद्युत् प्राधिकरण अहिले करिव ३ सय मेगावाट मात्र निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ ।

प्राधिकरणलाई सबै भन्दा ठूलो क्षति ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द हुनुने परेको छ । पावर ब्याकअपका रुपमा रहेको यति ठूलो जलविद्यत् आयोजना अहिले बन्द छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिडका अनुसार यो सहित ११ आयोजनाबाट करिव ७ सय मेगावाट विद्युत् उत्पादन हुन सकिरहेको छैन ।आँशिकरुपमै भए पनि तिहारसम्ममा माथिल्लो तामाकोशी सञ्चालनमा ल्याउने कसरतमा नेपाल विद्युत् प्राधिकरण छ ।

४५६ मेगावाटको अपर तामाकोशी, २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना, ८६ मेगावाटको सोलु दूधकोशी, माइखोला क्यासडेड (३ मेगावाट), माइखोला (९.६ मेगावाट), फेमे खोला (१ मेगावाट), सिउरी खोला (५ मेगावाट), खानी खोला (२ मेगावाट), टुङ्गुन ठोस्ने (४.३६मेगावाट), तल्लो हेवाखोला (२२.१ मेगावाट) र हेवाखोला–ए (१४.९ मेगावाट) मा क्षति पुगेको हो ।

घिसिङले प्रभावित आयोजना अस्थाइ तथा आंशिकरुपले भए पनि सञ्चालन गर्ने गरी प्रयत्न भइरहेको बताए । “करिव ७ सय मेगावाट जलविद्युत् र विभिन्न अवरुद्ध प्रशारणलाईन सञ्चालनका लागि प्राधिकरणले अनवरत प्रयाश गरिरहेको छ,” उनले भने, “दशैमा पनि कामदार तथा कर्मचारी खटिएर काम भएको छ ।”

बाढी तथा पहिरोका कारण प्रसारण तथा वितरण लाइनमा पनि ठूलो क्षति पुगेको छ। बाढीले काबेली करिडोर अन्तर्गत दमक गोदक १३२ केभी प्रसारण लाइनमा क्षति पुगेको छ। यो करिडोरको गोदक सबस्टेसनमा जोडिएको ९.६ मेगावाटको सुपरमाई ए जलविद्युत आयोजनाको ३३ केभी लाइनको १० वटा पोल बगाएको थियो। त्यस्तै, सुपरमाई ए क्यास्केड आयोजनाको ३३ केभी लाइनको ३ वटा पोल बगाएको थियो ।

काबेली बी १ क्यास्केडको ३३ केभी लाइनको एउटा पोल ढलेको थियो। यो करिडोरमा मात्रै पाँच करोड २५ लाखको क्षति भएको अनुमान छ। सोलु करिडोरमा तीन वटा पोल ढलेको थियो ।

यो विपत नभएको भए नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा करिव २५ अर्बको विद्युत् निर्यात हुने आँकलन गरेको थियो । तर निर्यात हुने मुख्य सिजनको मध्यमै बाढीको विपतले यो लक्ष्य नराम्ररी प्रभावित गरेको छ ।

गत वर्ष करिव १७ अर्बको विद्युत् निर्यात गरी खुद निर्यातकका रुपमा नेपालले पहिचान बनाएको थियो । हालै मात्रै नेपालले बँगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने संझौता गरिसकेको छ ।

 

 

Prev Post

ऊर्जा ऋणपत्र ल्याउँदै निफ्रा

Next Post

काबेली प्रसारणलाइन मर्मतमा प्राधिकरण र निजी क्षेत्र साथसाथ

post-bars

Leave a Comment