अमेरिकामा थियो कुकुर जत्रो डायनासोर

लन्डन ।
वैज्ञानिकहरूले करिब १५ करोड वर्षअघि अमेरिकामा कुकुर जस्तै नयाँ प्रजातिको डायनासोर रहेको आँकलन गरेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएन्का अनुसार यसको नाम इनिग्माकर्सर मोलिबोर्थविके राखिएको छ।
अध्येताका अनुसार झट्ट हेर्दा कुकुर जस्तै सानो तर निकै चाँडो दौडन सक्ने यसको बनावटको थियो। यसको लम्बाइको झन्डै आधा भाग पुच्छरले ओगटेको थियो।
यो जीवको कंकाल सन् २०२१/२२ मा अमेरिकाको कोलोराडो राज्यस्थित मोरिसन फर्मेसनबाट भेटिएको जनाइएको छ । टाउको र केही मेरुदण्डको हड्डी नपाइए पनि यसको कंकाल लगभग पूरा छ, जुन साना डायनासोरको हकमा निकै दुर्लभ मानिएको छ
अनुसन्धानकर्ताका अनुसार यो डायनासोर शाकाहारी थियो र दुई खुट्टामा हिँड्थ्यो। यसको शरीर हल्का भएकाले छिटो दौडन सक्ने अनुमान गरिएको छ, जसले गर्दा सिकारिहरूबाट बच्न सक्थ्यो।
लन्डनको नेचुरल हिस्ट्री म्युजियमका वैज्ञानिकहरू पर्ल बारेट र सुसान्ना मेडमेन्टले यसको अध्ययन गरेका छन् । वैज्ञानिकहरूको भनाइ अनुसार यो डायनासोर अझै पूर्णरूपमा हुर्किएको थिएन, तर यसले कति ठूलो हुन्थ्यो भन्ने कुरा स्पष्ट छैन। यसको मृत्यु कसरी भयो भन्ने कुरा पनि निश्चित छैन, किनभने हड्डीहरूमा कुनै चोटपटक वा रोगका संकेतहरू देखिएको छैन ।
